काठमाडौं । खराब कर्जा असुलीमा आएको सुधार तथा नियामकीय व्यवस्थाअन्तर्गत छुट्याइएको प्रोभिजनिङ रकम फिर्ता (राइट ब्याक) हुन थालेपछि वित्तीय संस्थाको नाफामा सकारात्मक प्रभाव देखिन थालेको छ। तर, अधिकांश वित्त कम्पनी भने अझै सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेका छैनन्।
गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार वित्त कम्पनीमध्ये आइसिएफसी फाइनान्स र मन्जुश्री फाइनान्सले मात्र लाभांश वितरण गर्न सक्ने क्षमता देखाएका छन्। यी दुई कम्पनीमध्ये मन्जुश्री फाइनान्सको लाभांश क्षमता तुलनात्मक रूपमा बलियो देखिएको छ।
आइसिएफसी फाइनान्सले गत आवमा करिब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २०.७ प्रतिशत घटेको हो। कम्पनीको खुद ब्याज आम्दानी करिब ६४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १४ करोड रुपैयाँ छ।
कम्पनीको लाभांश क्षमता ११.९८ प्रतिशत देखिएको छ। निष्क्रिय कर्जा (एनपीएल) भने घटेर १.५५ प्रतिशतमा आएको छ। खराब कर्जा घट्नु कम्पनीको वित्तीय स्वास्थ्य सुधार हुँदै गएको संकेतका रूपमा हेरिएको छ।
आइसिएफसी फाइनान्सले सम्भावित नोक्सानी व्यवस्थाबापत २ करोड ३२ लाख रुपैयाँ छुट्याउनुपरेका कारण नाफामा केही दबाब परेको देखिन्छ। यद्यपि, खराब कर्जा घट्नु र कर्जा असुलीमा सुधार आउनुले आगामी दिनमा वित्तीय अवस्थामा थप सुधारको सम्भावना देखाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ रहेको छ। पछिल्लो पाँच वर्षमा कम्पनीले औसत १०.३० प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। पछिल्लो कारोबारअनुसार कम्पनीको सेयर मूल्य ५९६ रुपैयाँ रहेको छ।
यता, मन्जुश्री फाइनान्सको वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो देखिएको छ। कम्पनीले गत आवमा ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो।
मन्जुश्रीको खुद ब्याज आम्दानी ९२ करोड रुपैयाँ पुगेको छ। कम्पनीको वितरणयोग्य नाफा ४२ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३१.११ प्रतिशत पुगेको छ।
कम्पनीको नाफा वृद्धिमा सम्भावित नोक्सानी व्यवस्थापन खर्च घट्नुले समेत सहयोग गरेको छ। अघिल्लो वर्ष करिब ९ करोड रुपैयाँ रहेको यस्तो खर्च गत आवमा घटेर ६ करोड रुपैयाँमा आएको छ।
मन्जुश्री फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २७.८५ रुपैयाँ पुगेको छ। पछिल्लो पाँच वर्षमा कम्पनीले औसत १९.३७ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। पछिल्लो कारोबारअनुसार कम्पनीको सेयर मूल्य ७४६ रुपैयाँ रहेको छ।
वित्त कम्पनीहरूको वित्तीय अवस्थालाई हेर्दा खराब कर्जा नियन्त्रण, कर्जा असुलीमा सुधार र प्रोभिजनिङ रकम राइट ब्याक हुनुले नाफा बढाउन सहयोग गरेको देखिन्छ। तर, नाफा बढ्दैमा सबै कम्पनी तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा भने पुगेका छैनन्।
लाभांश वितरणका लागि खुद नाफासँगै वितरणयोग्य नाफा, नियामकीय प्रावधान, पुँजी संरचना र अन्य वित्तीय सूचकसमेत महत्वपूर्ण हुने भएकाले अधिकांश वित्त कम्पनी अझै लाभांश वितरणका लागि पर्याप्त अवस्थामा पुग्न सकेका छैनन्।
सेयर बजारको प्राविधिक अवस्थातर्फ हेर्दा आइसिएफसी फाइनान्सको सेयरमा ‘ब्ल्याक क्यान्डलस्टिक’ बनेको छ। यसले बजारमा खरिद र बिक्रीको चाप तुलनात्मक रूपमा बराबरी रहेको संकेत गर्छ। मन्जुश्री फाइनान्सको चार्टमा भने ‘इन्भर्टेड ह्यामर’ आकृति देखिएको छ, जसलाई बजार बढ्न सक्ने सम्भावनाको संकेतका रूपमा प्राविधिक विश्लेषणमा लिने गरिन्छ।


