काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ३८९ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रका विभिन्न स्थानबाट ३८९ जनाको शव फेला परेको हो।
बाढी र पहिरोका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। खोज, उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ३ सय ४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीबाट प्रभावित ४६६ जनाको उद्धार गरिएको छ। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
चितवन र नवलपरासीमा धेरै शव
बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लामा फेला परेका छन्। प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी चितवनमा १३७ र नवलपरासी (पूर्व) मा ८७ जनाको शव फेला परेको छ।
जिल्लागत विवरणअनुसार चितवनमा १३७, नवलपरासी (पूर्व) मा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १७ जनाको शव फेला परेको छ।
रसुवामा सबैभन्दा धेरै उद्धार
उद्धारतर्फ भने बाढीको मुख्य प्रभावित क्षेत्र रसुवामा सबैभन्दा धेरै २८९ जनाको उद्धार गरिएको छ। यस्तै, नुवाकोटबाट ९०, काठमाडौँबाट ८४ र धादिङबाट ३ जना घाइते तथा प्रभावितको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बेपत्ता प्रहरी कर्मचारीसहित अन्य नागरिकको खोजी कार्य अझै जारी छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।


