बाढी प्रभावित क्षेत्रमा आवतजावत खुलाउन भारत र चीनसँग ४२ बेलिब्रिज माग

बाढी प्रभावित क्षेत्रमा आवतजावत खुलाउन भारत र चीनसँग ४२ बेलिब्रिज माग

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • images

    काठमाडौं। सरकारले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध आवतजावत तत्काल सुचारु गर्न भारत र चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गरेको छ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सरकारले दुवै छिमेकी मुलुकसँग सहयोग मागेको हो। विपद् व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक आकलनका आधारमा ४२ वटा बेलिब्रिज आवश्यक पर्ने देखिएपछि सरकारले भारत र चीनसमक्ष सहयोगका लागि अनुरोध गरेको हो।

    विदेशी मुलुकबाट प्राप्त हुने सहयोगलाई विपद् प्राधिकरणको आवश्यकता र मागका आधारमा परिचालन गर्ने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ। यसैअनुसार तत्काल यातायात तथा आवतजावत सुचारु गर्न आवश्यक पूर्वाधारमा केन्द्रित भएर सहयोग मागिएको हो।

    भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको अवस्थामा बेलिब्रिजलगायतका पूर्वाधार सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए।

    भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङमा ठूलो संख्यामा पुल बगाएका छन्। पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा ४१ वटा पुलमा क्षति पुगेको छ भने रसुवाको करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

    पुल तथा सडक संरचना बगाएपछि रसुवासहितका उत्तरी क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका छन्। विशेषगरी बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति पुगेको छ। बाढीले मितेरी पुलसहित टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती तथा नुवाकोटका विभिन्न स्थानका पुलमा क्षति पुर्‍याएको विवरण छ।

    सरकारले अहिलेको प्राथमिकता बाढीबाट विच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालमा जोड्नु रहेको जनाएको छ। त्यसका लागि नेपालमा मौज्दात रहेका बेलिब्रिज परिचालनसँगै भारत र चीनबाट थप पुल ल्याउने तयारी गरिएको हो।

    बाढीका कारण रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्रसमेत घोषणा गरिसकेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend