रसुवागढीपछि तातोपानी नाका पनि बन्द, दसैं–तिहारका सामान बोकेका सयौँ कन्टेनर रोकिए

रसुवागढीपछि तातोपानी नाका पनि बन्द, दसैं–तिहारका सामान बोकेका सयौँ कन्टेनर रोकिए

ट्याक्स खबर
सोमवार, भाद्र १५ २०८३
ट्याक्स खबर
सोमवार, भाद्र १५ २०८३
  • images

    काठमाडौं । रसुवागढी नाका बाढीका कारण ठप्प रहेको अवस्थामा चीनले नेपाल–चीन व्यापारको अर्को प्रमुख उत्तरी नाका तातोपानी पनि अस्थायी रूपमा बन्द गर्ने भएको छ। दुवै प्रमुख नाका एकैपटक प्रभावित भएपछि दसैं–तिहार तथा जाडोयामलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान नेपाल भित्र्याउन समस्या हुने भएको छ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्र प्रकाश गिरीका अनुसार चीनले भदौ १४ गतेदेखि नाका बन्द गर्ने जानकारी दिएको छ। पर्यटक सवारीसाधनको आवागमन भने खुला रहने भए पनि मालवाहक कार्गो गाडीको प्रवेशमा पूर्ण रोक लगाइनेछ।

    भन्सार विभागका एक अधिकारीका अनुसार मितेरी पुलनजिकै रहेको चिनियाँ भन्सार कार्यालयलाई माथिल्लो स्थानमा सार्ने तथा मर्मतसम्भार गर्ने योजनाअन्तर्गत नाका बन्द गर्न लागिएको हो। तातोपानीबाट पछिल्लोपटक भदौ १२ गते चीनबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए।

    केरुङमा १७६ मालवाहक गाडी रोकिए

    रसुवागढी नाका बाढीका कारण ठप्प भएपछि केरुङमा मात्रै १७६ वटा मालवाहक गाडी रोकिएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तीमध्ये २० देखि २५ वटा गाडी सामानले पूर्ण रूपमा लोड भइसकेका छन्।

    केरुङमा करिब ७०–७१ जना नेपाली चालकसमेत अलपत्र परेका छन्।

    दसैं, तिहार र जाडोयामलाई लक्षित गरी ल्याइएका फलफूल, लत्ताकपडा, जुत्ता–चप्पल तथा कस्मेटिक्सलगायतका सामान लामो समय रोकिँदा व्यवसायीले ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम बढेको छ।

    व्यवसायीहरूको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गरी वैकल्पिक व्यवस्थाका लागि कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विशेषगरी फलफूल कोरला नाकाबाट ल्याउँदा लामो दूरी र ढुवानी प्रक्रियाका कारण कुहिने जोखिम रहेकाले तातोपानी नाका खुलाउन कूटनीतिक सहजीकरण गर्न माग गरिएको संघले जनाएको छ।

    कोरला नाकालाई विकल्प बनाउने प्रयास

    रसुवागढी नाका अवरुद्ध भएपछि भन्सार विभागले मुस्ताङको कोरला नाका प्रयोग गर्न व्यवसायीलाई आग्रह गरिसकेको छ। विभागले भदौ १३ गते सूचना जारी गर्दै नाका परिवर्तन गरी कोरला प्रयोग गर्न अनुरोध गरेको हो।

    कोरला भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार आवश्यक संरचना र जनशक्ति तयारी अवस्थामा छन्। कालिगण्डकी करिडोरका प्रमुख तेजस शर्माका अनुसार कागबेनी र रुप्सेका बेलिब्रिज सञ्चालनमा रहेकाले १८ देखि २० टनसम्मका मालवाहक गाडी सञ्चालन गर्न सकिने अवस्था छ।

    तर, रसुवागढी हुँदै हुने ठूलो परिमाणको आयात तत्काल कोरला नाकाबाट व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिएको व्यवसायीहरू बताउँछन्।

    अरनिको राजमार्गमा भने अवरोध छैन

    तातोपानी नाकासँग जोडिएको अरनिको राजमार्गको अवस्था भने हाल सञ्चालनयोग्य रहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ।

    कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार असार ३१ गतेको कोदारी पहिरो पन्छाएर भदौ ८ गतेदेखि सडक सञ्चालनमा ल्याइएको हो। हाल सडकमा कुनै बाधा नरहेको उनले जानकारी दिए।

    रसुवागढी बाढीका कारण बन्द हुनु र त्यसलगत्तै तातोपानी नाका पनि बन्द हुने भएपछि नेपाल–चीन उत्तरी व्यापारिक मार्गमा दोहोरो समस्या सिर्जना भएको छ। चाडपर्वको मुख्य व्यापारिक मौसम सुरु हुनै लाग्दा दुवै प्रमुख नाकाबाट नियमित आयात प्रभावित हुने अवस्था आएपछि व्यवसायीले कूटनीतिक पहलमार्फत तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend