काठमाडौँ। भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एफवान सफ्ट ग्रुप र त्यसअन्तर्गतका कम्पनीका कर्मचारीले संयुक्त रूपमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेका छन्।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सहयोगमा एफवान सफ्ट ग्रुपअन्तर्गतका ईसेवा, फोनपे, एफवान सफ्ट इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफर तथा कम्पनीका कर्मचारीको संयुक्त सहभागिता रहेको छ।
विपत्तिबाट प्रभावित समुदायलाई सहयोग आवश्यक परेको समयमा उद्धार तथा राहत प्रयासमा योगदान गर्ने साझा प्रतिबद्धताअनुसार सहयोग गरिएको ग्रुपले जनाएको छ।
ग्रुपका अनुसार कम्पनी र कर्मचारीको सामूहिक पहलबाट संकलित रकम बाढी प्रभावितको उद्धार तथा राहतमा प्रयोग हुने गरी सरकारी कोषमा जम्मा गरिएको हो।
भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न निजी क्षेत्रका कम्पनी तथा संस्थाले उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग घोषणा गरिरहेका छन्। यही क्रममा एफवान सफ्ट ग्रुपले पनि आफ्नो संस्थागत पहलसँगै कर्मचारीलाई समेत जोडेर सहयोग गरेको हो।


