बाढीले रोकिएको करदाता उपहार असोज १ मा : ३३ जनाले जित्नेछन् १० लाखदेखि १ लाख ३३ हजारसम्म

बाढीले रोकिएको करदाता उपहार असोज १ मा : ३३ जनाले जित्नेछन् १० लाखदेखि १ लाख ३३ हजारसम्म

भदौका ३१ दिनको पुरस्कार एकैपटक घोषणा हुँदै, दुईजनाले १०-१० लाख र ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउने

ट्याक्स खबर
शनिवार, भाद्र २७ २०८३
ट्याक्स खबर
शनिवार, भाद्र २७ २०८३
  • images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते एकैपटक घोषणा हुने भएको छ।

    भदौ महिनाका ३१ दिनको कारोबारलाई दुई चरणमा विभाजन गरी आन्तरिक राजस्व विभागले ३३ जना विजेता छनोट गर्न लागेको हो।

    करदातालाई सामान खरिद गर्दा बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको थियो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते भदौको पहिलो १५ दिनको पुरस्कार घोषणा गर्ने कार्यतालिका थियो। तर, भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त घोषणा स्थगित गरिएको थियो।

    अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले अब असोज १ गते भदौ महिनाभरिका सबै पुरस्कार घोषणा गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए।

    विभागका अनुसार भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एकजनाका दरले १५ जना छनोट हुनेछन्। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्।

    यही अवधिमा कारोबार गर्ने उपभोक्तामध्येबाट एकजनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।

    त्यसैगरी, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्ने उपभोक्तामध्येबाट १६ जना दैनिक विजेता छनोट हुनेछन्। उनीहरूले पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्। उक्त १६ दिनका उपभोक्तामध्येबाट थप एकजनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्।

    यसरी असोज १ गते १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना र १०-१० लाख रुपैयाँका दुईजना गरी ३३ जना विजेता छनोट हुनेछन्।

    पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा अनिवार्य रूपमा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ। विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ।

    नगदमा कारोबार गरी सक्कली बिल लिने उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि कुपन लिनुपर्नेछ।

    भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्मै बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्ने व्यवस्था गरिएको थियो। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरी बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी उपहार कुपन लिनुपर्नेछ।

    पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ। त्यसअनुसार १ लाख ३३ हजार ३३४ रुपैयाँको दैनिक पुरस्कारबाट कर कट्टीपछि विजेताले एक लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, १० लाख रुपैयाँको बम्पर पुरस्कारमा कर कट्टीपछि विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्।

    यसअघि साउन महिनामा पनि ३३ जना उपभोक्ता करदाता प्रोत्साहन पुरस्कारका लागि छनोट भएका थिए।  

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend