काठमाडौं । अर्थ मन्त्रालयमा तीन सहसचिवको सरुवा भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेको सरुवा तथा पदस्थापनसम्बन्धी निर्णयअनुसार नारायणप्रसाद रिसाल, गोकुल बाँस्तोला र बन्धुप्रसाद बाँस्तोला अर्थ मन्त्रालयमा आएका हुन्।तीनमध्ये नारायणप्रसाद रिसाल र गोकुल बाँस्तोला अर्थसम्बन्धी कामको अनुभव भएका अधिकारी हुन्। रिसाल यसअघि पनि अर्थ मन्त्रालयमा सहसचिवका रूपमा काम गरिसकेका अधिकारी हुन्। उनी २०८० माघमा गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा आएका थिए र त्यहाँ महत्वपूर्ण जिम्मेवारी सम्हालेपछि २०८१ माघमा गृह मन्त्रालयमा सरुवा भएका थिए। हाल कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई संघीय सरकारको अर्थ मन्त्रालयमा ल्याइएको हो।
गोकुल बाँस्तोला पनि सार्वजनिक वित्त तथा लेखा प्रशासनसँग सम्बन्धित अनुभव भएका अधिकारी हुन्। उनले सहसचिवमा बढुवा हुनुअघि लेखा समूहका उपसचिवका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरेका थिए। सहसचिवमा बढुवा भएपछि उनी लोक सेवा आयोगको धनकुटा कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए।
अर्का सहसचिव बन्धुप्रसाद बाँस्तोला भने गृह प्रशासनमा लामो अनुभव भएका अधिकारी हुन्। उनी यसअघि बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा झापाका प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन्। २०८१ माघमा झापाबाट गृह मन्त्रालयमा सरुवा भएका बाँस्तोला हाल लुम्बिनी प्रदेशको अर्थ मन्त्रालयमा कार्यरत थिए। त्यहाँबाट उनलाई संघीय सरकारको अर्थ मन्त्रालयमा ल्याइएको हो।
बन्धुप्रसाद बाँस्तोलाले सहसचिव भएपछि संघीय सरकारको अर्थ मन्त्रालयमा भने यसअघि काम गरेका थिएनन्। तीनै जनाको सरुवासँगै अर्थ मन्त्रालयको उच्च प्रशासनिक तहमा नयाँ जिम्मेवारी बाँडफाँट हुने भएको छ।


