काठमाडौँ । काठमाडौँ उपत्यकामा राति सार्वजनिक बस चलाउने योजनामा ९ स्थानीय तह एक ठाउँमा आएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवालाई अब थप रुट र बससहित विस्तार गरिएको हो ।
रातिको समयमा कामबाट फर्किने श्रमिक, व्यवसायी, बिरामी, विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकलाई सहज र सुरक्षित यातायात उपलब्ध गराउने उद्देश्यले स्थानीय तह र साझा यातायातबीच संविधान दिवसका दिन समझदारी भएको हो ।
सम्झौताअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका कार्यक्रममा जोडिएका छन् । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतापछि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको छ ।
७ बाट ३० बस, दुई रुटबाट ६ रुट
यसअघि लगनखेल-बुढानीलकण्ठ र नागढुङ्गा-एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बस चलाइएको थियो ।
परीक्षण सेवाको प्रभाव र लागतलाभ विश्लेषणपछि नाफाघाटाभन्दा नागरिकलाई दिइने सेवा महत्वपूर्ण हुने निष्कर्षसहित सेवा विस्तार गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यसपटक सेवा विगतमा जस्तो बीचमै नरोकिने बताइन्।
'परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वटा गाडीलाई ३० वटा पु-याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ,' उनले भनिन्, 'यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर चल्छ । दिगो चल्छ ।'
कुन रुटमा कति बस ?
विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा बस चल्नेछन् ।
साविक लगनखेल–बुढानीलकण्ठ रुटलाई गोदावरीसम्म विस्तार गरेर ६ वटा बस सञ्चालन गरिनेछ ।
त्यस्तै रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस चल्नेछन् ।
चक्रपथमा बस सेवा विस्तार भएपछि एउटा स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ ।
टिकटले नपुगेको पैसा स्थानीय तहले हाल्ने
रात्रीकालीन बस सञ्चालनको खर्च यात्रुबाट उठेको टिकट आम्दानीले नपुगेमा त्यसको भार स्थानीय तहले बेहोर्ने सहमति भएको छ ।
सहमति अनुसार टिकटबाट नपुगेको रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा बेहोर्नेछन् । बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा बाँडिनेछ ।
यसमा काठमाडौँ र ललितपुर महानगरपालिकाले १८.५५–१८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९–९ प्रतिशतका दरले बेहोर्ने सहमति भएको छ ।
सेवा सञ्चालनका लागि खर्च नपुगेमा साझा यातायातले त्रैमासिक रूपमा स्थानीय तहसँग रकम माग गर्न सक्नेछ ।
रातिको बसमा डिजिटल टिकट
टिकटबाट हुने आर्थिक चुहावट घटाउन साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सुरु गरेको छ ।
अब यात्रुले क्यूआरमार्फत वा नगद दिएर टिकट लिन सक्नेछन् । टिकट बिक्रीमा हुने चुहावट घटेमा सेवामा लाग्ने घाटा पनि कम हुने अपेक्षा साझा यातायातको छ ।
साझाका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहले साझा यातायातलाई अभिभावकको रूपमा साथ दिन थालेको बताए।
‘मेट्रो आएन, त्यसैले स्थानीय स्तरबाटै काम थाल्यौँ’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात समस्या समाधानका लागि संघीय सरकारबाट मेट्रो सञ्चालनको योजना आउनुपर्ने भए पनि त्यसतर्फ अपेक्षित प्रगति नदेखिएको बताए।
'मेट्रो नभएपछि बीआरटी (बस -यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही संकेत छैन । संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन,' उनले भने, 'यसकारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।'
डिजिटल बस स्टप र चार्जिङ स्टेसन पनि
सम्झौताअनुसार बस चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन बनाउन आवश्यक जग्गा सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेछन् । चार्जिङ स्टेसन साझा यातायातले जडान गर्नेछ भने त्यसको सुरक्षा सम्बन्धित स्थानीय तहले गर्नेछन् ।
रात्रिकालीन बस सेवा नियमित रूपमा अनुगमन गर्ने र आवश्यक सुझाव दिने जिम्मेवारी पनि स्थानीय तहले लिएका छन् । सम्झौताको कार्यान्वयनबारे कम्तीमा तीन महिनामा एकपटक प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन पेस गर्ने व्यवस्था गरिएको छ ।
यात्रुको चाप र आवश्यकता बढ्दै गए अन्य क्षेत्रमा पनि रात्रिकालीन बस सेवा विस्तार गर्ने बाटो यो सहकार्यले खुला गरेको छ ।
रातिको सार्वजनिक यातायात विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा जाने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ । निजी सवारीमा निर्भरता घटाउनुका साथै अन्य निजी यातायात व्यवसायीलाई समेत रात्रिकालीन सेवामा आउन प्रोत्साहन गर्ने स्थानीय तहको अपेक्षा छ ।


