भारी वर्षाले बढायो जोखिम : सडक यातायात प्रभावित, विभिन्न विद्यालय बन्द

भारी वर्षाले बढायो जोखिम : सडक यातायात प्रभावित, विभिन्न विद्यालय बन्द

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • images

    काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। वर्षाका कारण मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म यातायात प्रभावित भएको छ भने विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

    धादिङको कृष्णभीर, टिङराङखानी र परेवा भीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन रोकिएको छ।

    त्यस्तै, पहिरोको जोखिमका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नभएसम्म बन्द गरिएको छ। यो सडकबाट दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्गबाट १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले सडक बन्द हुँदा यात्रु तथा मालवाहक सवारीमा प्रत्यक्ष असर परेको छ।

    बीपी राजमार्गदेखि कालीगण्डकी करिडोरसम्म असर

    काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गसमेत अवरुद्ध भएको छ। वर्षाको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ।

    कान्ति लोकपथमा पहिरो खसेपछि हेटौँडाबाट सञ्चालन हुने यातायात प्रभावित भएको छ। नुवाकोटको टोखा–छहरे सडकमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी चलाउन रोक लगाइएको छ।

    गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडकखण्डमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी रसुवामा त्रिशूली नदीको कटान र बाढीका कारण पासाङल्हामु राजमार्गको ठूलो भाग क्षतिग्रस्त हुँदा रसुवागढी जाने मुख्य सडकसमेत प्रभावित भएको छ।

    रातिको यातायातमा धेरै ठाउँमा रोक

    भारी वर्षाको जोखिमका कारण सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहितका सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदलयात्रुको आवागमनमा रोक लगाइएको छ।

    दाङका विभिन्न सडकखण्डमा पनि रातिको समयमा यातायात बन्द गरिएको छ। रोल्पाको मदन भण्डारी राजमार्ग, भोजपुरको मध्यपहाडी लोकमार्ग र मनाङको बेसीसहर–खाङसार सडकमा समेत वर्षा तथा पहिरोको जोखिमका कारण आवागमन सीमित गरिएको छ।

    सडकसँगै विद्यालय पनि बन्द

    भारी वर्षा, बाढी, पहिरो, डुबान र चट्याङको जोखिम बढेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्न आग्रह गरेको छ।

    मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा विद्यालय बिदा गर्न र विश्वविद्यालय तथा अन्य परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरेको हो। मौसम सफा भएपछि मात्रै विद्यालय सञ्चालन गर्नसमेत भनिएको छ।

    यसैअनुसार विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि असोज ८ र ९ गते नगर क्षेत्रका सबै विद्यालय बन्द गरेको छ।

    लमजुङका पाँच स्थानीय तहले पनि भारी वर्षाबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले समेत असोज ८ र ९ गते विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

    यातायात र व्यवसायमा प्रत्यक्ष असर

    सडक अवरुद्ध हुँदा यात्रु आवतजावत मात्र होइन, दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित हुन्छ। राजमार्ग बन्द हुँदा मालवाहक सवारी बाटोमै रोकिने, ढुवानी समय बढ्ने र व्यवसायीको लागत बढ्ने अवस्था आउन सक्छ।

    त्यसैगरी विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइसँगै विद्यालय बस, क्यान्टिन, स्टेशनरी तथा स्थानीय व्यापारिक गतिविधिमा समेत असर पर्न सक्छ।

    लगातारको वर्षाका कारण सडकमा पहिरो र कटानको जोखिम कायमै रहेकाले प्रशासनले मौसम र सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend