काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार कुपन प्राप्त गर्न उपभोक्ताले खरिद बिलको विवरण प्रणालीमा प्रविष्ट गर्न आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार २०८३ असोज १ गतेदेखि १५ गतेसम्म खोलिने करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि योग्य हुने खरिद बिलको विवरण असोज १५ गते बिहीबारभित्र विभागको prize.ird.gov.np प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
विभागका अनुसार उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले खरिद बिलसम्बन्धी विवरण प्रणालीमा प्रविष्ट गरेपछि उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
यस कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल/बीजक लिन प्रोत्साहित गर्ने र व्यवसायीलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल/बीजक जारी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।
विभागले कार्यक्रमबाट पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन सबै उपभोक्तालाई आग्रह गरेको छ। विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन र बिल/बीजक लिने बानी विकास गर्न उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई बिक्रीको वास्तविक कारोबार बिलमा देखाउन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।


