दक्षिण अफ्रिकाको अनुभवबाट नेपालमा पूर्वाधार र खानी विकास गर्न सकिने, कृषि प्रशोधन र निर्यातमा संयुक्त लगानीको प्रस्ताव

दक्षिण अफ्रिकाको अनुभवबाट नेपालमा पूर्वाधार र खानी विकास गर्न सकिने, कृषि प्रशोधन र निर्यातमा संयुक्त लगानीको प्रस्ताव

बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • images

    काठमाडौं। नेपाल र दक्षिण अफ्रिकाबीच पूर्वाधार विकास, खानी तथा खनिज अन्वेषण, ऊर्जा, कृषि प्रशोधन र पर्यटन क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालबीच बुधबार चेम्बर भवनमा भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तारका सम्भावनाबारे छलफल भएको हो।

    भेटमा दक्षिण अफ्रिकाको पूर्वाधार निर्माण तथा खानी क्षेत्रको प्राविधिक अनुभव नेपालमा उपयोग गर्न सकिने विषयले प्राथमिकता पाएको थियो। दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै राजदूत सुकलालले उनीहरूको अनुभव नेपालका आयोजनामा उपयोगी हुन सक्ने बताए।

    उनका अनुसार खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता छ। नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा दुई देशबीच सहकार्य गर्न सकिने उनले बताए।

    चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीचको आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान र संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए।

    उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवद्र्धन गर्न सकिने सम्भावना औँल्याए। कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा पनि सहकार्यका पर्याप्त अवसर रहेको उनको भनाइ थियो।

    अग्रवालले नेपाली उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी जानकारी आदानप्रदान गर्न सके दुई देशबीचको व्यापार विस्तारमा सहयोग पुग्ने बताए।

    कृषि प्रशोधन र निर्यातमा संयुक्त लगानीको प्रस्ताव

    अग्रवालले नेपालको उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताए। कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके नेपाली उत्पादनको निर्यात बढाउनुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुग्ने उनले उल्लेख गरे।

    त्यसैगरी, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा उनले जोड दिए।

    पर्यटन क्षेत्रमा नेपालका हिमाली तथा सांस्कृतिक गन्तव्यलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने अग्रवालको भनाइ थियो।

    व्यापारका अवरोध हटाउन समन्वय आवश्यक

    दुई देशबीचको व्यापार तथा लगानी विस्तारका क्रममा ढुवानी र पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड तथा लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न प्रभावकारी द्विपक्षीय समन्वय आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका थिए।

    अग्रवालले सहकार्यलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग तथा सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको बताए। दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची निर्माण र सम्भावित लगानी परियोजना पहिचान गरेर सहकार्य अघि बढाउन सकिने उनले बताए।

    राजदूत सुकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्य पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिए। उक्त अनुभव नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा पनि उपयोगी हुन सक्ने उनको भनाइ थियो।

    भेटमा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा आईटी समितिका सभापति विज्ञान श्रेष्ठलगायतको उपस्थिति थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend