काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) को अवधिमा सरकारले डीजेल, पेट्रोल र विद्युतीय सवारीसाधन बाट सबैभन्दा बढी राजस्व संकलन गरेकाे छ ।
विगतका आर्थिक वर्षहरूमा राजस्व संकलनका आधारमा डिजेल र पेट्रोल निरन्तर अग्रस्थानमा रहँदै आएका छन् भने पछिल्ला आर्थिक बर्षमा विद्युतीय सवारीसाधनको आयात र त्यसबाट संकलित राजस्व उल्लेखनीय रूपमा बढ्न थालेको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब ६७ करोड मूल्य बराबरका ६८ लाख ८५ हजार विद्युतीय सवारीसाधन आयात भएका थिए। ती सवारीसाधनबाट मात्रै ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो। गत वर्ष विद्युतीय सवारीसाधन राजस्व संकलनमा चौथो स्थानमा रहेको थियो।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको अवधिमा विद्युतीय सवारीसाधन (इभि) आयातमा बाढी नै आयो । याे वर्ष हालसम्म १८ अर्ब ४५ करोड रुपैयाँ मूल्य बराबरका ७३ लाख ५८ हजार विद्युतीय सवारीसाधन आयात भइसकेका छन्। जसबाट ११ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो वृद्धिसँगै विद्युतीय सवारीसाधन राजस्व संकलनको दृष्टिकोणले तेस्रो स्थानमा उक्लिएका छन् ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दो क्रममा छ र राज्यले यस क्षेत्रबाट बढ्दो मात्रामा राजस्व संकलन गर्न थालेको छ। वातावरणमैत्री प्रविधिमा देखिएको यो रूचि दीर्घकालीन रूपमा ऊर्जा खपत, वातावरण संरक्षण र आर्थिक सन्तुलनका दृष्टिकोणले समेत सकारात्मक रहेकाे सरोकारवालाहरुको भनाई छ।
सबैभन्दा बढी राजस्व संकलन गर्ने प्रमुख १० वस्तुहरू (आ.व. २०८१/८२ जेठ मसान्तसम्म)
यस आर्थिक वर्षको हालसम्मको अवधिमा सबैभन्दा बढी राजस्व संकलन गर्ने प्रमुख १० आयातीत वस्तुहरूमा डीजल, पेट्रोल, विद्युतीय कार/जीप/भ्यान, एलपी ग्यास, अन्य पेट्रोल इन्जिन सवारीसाधन, फलामजन्य वस्तुहरू, ५०–१२५ सिसीका मोटरसाइकल , स्मार्टफोन, ५०–१२५ सिसीका असेम्बल मोटरसाइकल र १२५–२०० सिसीका असेम्बल मोटरसाइकल परेका हुन् ।

भन्सार विभागका अनुसार , पछिल्लो ११ महिनामा सबैभन्दा बढी राजस्व डीजल आयातबाट संकलन भएको छ । डीजल आयातबाट मात्रै ५२ अर्ब ३३ करोड ३४ लाख ९० हजार रुपैँया राजस्व संकलन भएको छ। त्यसपछि पेट्रोलबाट रु ३८ अर्ब ५८ करोड र विद्युतीय कार, जीप तथा भ्यानबाट रु ११ अर्ब ७२ करोड राजस्व संकलन भएको छ।
यस्तै, एलपी ग्यासबाट रु १० अर्ब ६९ करोड, अन्य पेट्रोल इन्जिन सवारी साधनबाट रु ७ अर्ब ३६ करोड, फलामजन्य वस्तुहरूबाट रु ७ अर्ब ७ करोड, मोटरसाइकल (५०–१२५ सिसी) बाट रु ६ करोड १६ लाख, स्मार्टफोनबाट रु ५ अर्ब ९८ करोड, १२५ सिसी सम्मका असेम्बल मोटरसाइकलबाट रु ५ अर्ब २१ करोड र १२५–२०० सिसीसम्मका असेम्बल मोटरसाइकलबाट ४ अर्ब ४९ करोड ७७ लाख रुपैँया राजस्व संकलन भएको छ।
सबैभन्दा बढी राजस्व संकलन गरिएका प्रमुख १० आयातीत वस्तुहरूबाट मात्रै सरकारले रु १ खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ ।
सबैभन्दा बढी राजस्व संकलन गर्ने प्रमुख १० बस्तुहरुको आयातको अवस्था
माथि उल्लेखित सबैभन्दा बढी राजस्व संकलन भएका प्रमुख १० बस्तुहरूको आयात कारोबार यस्तो छ:

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा सबैभन्दा धेरै रु १ खर्ब १५ अर्ब ५५ करोड बराबरको डीजेल आयात भएको छ। पेट्रोल दोस्रो स्थानमा परेको छ। सो अवधिमा करिब रु ५८ अर्ब ५८ करोड बराबरको पेट्रोल आयात गरिएको छ। आयात मुल्यका आधारमा तेस्रो स्थानमा एलपी ग्यास परको छ। एलपी ग्यासको आयात रु ५७ अर्ब ३६ करोड ७७ लाख बराबर भएको छ।
यस्तै, यो अवधिमा रु १८ अर्ब ४५ करोड ५० लाख बराबरका विद्युतीय कार, जीप तथा भ्यान आयात गरिएको छ। अन्य पेट्रोल इन्जिन सवारीसाधन, विशेष गरी १००० सिसीभन्दा बढी तर १५०० सिसीसम्मका सवारीसाधनको आयात रु २ अर्ब ७३ करोड ९७ लाख बराबर पुगेको छ।
फलामजन्य वस्तुहरूको आयात रु ४५ अर्ब ७१ करोड ४७ लाख रहेको छ। यस्तै, असेम्बल नगरिएका ५०–१२५ सिसी क्षमताका रु ६ अर्ब ७१ करोड ६९ लाख बराबरका मोटरसाइकलहरू भित्रिएका छन् ।
यसैबीच पछिल्ला ११ महिनाको अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैँया बराबरका स्मार्टफोन आयात गरिएको छ। रु ४ अर्ब ३३ करोड १६ लाख बराबरका ५०–१२५ सिसी क्षमताका मोटरसाइकल, रु ५ अर्ब १ करोड ९६ लाख बराबरका १२५ सिसीभन्दा बढी तर २०० सिसीसम्मका असेम्बल मोटरसाइकल आयात भएका छन् ।
पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको आयात र त्यसबाट संकलित राजस्व उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ। डीजेल र पेट्रोलजस्ता पारम्परिक इन्धनसँगै वातावरणमैत्री प्रविधिमा आधारित विद्युतीय सवारीसाधन (इभि) को आयातमा भएको बृद्धीले पनि राजस्व संकलनमा उल्लेखनीय योगदान गर्न थालेको छ ।


