काठमाडौं। ओटीटी प्लेटफर्म डिगोले भारतीय स्ट्रिमिङ सेवा जिओहटस्टारसँग साझेदारी गर्दै नेपालमा यसको सामग्री उपलब्ध गराएको छ। योसँगै नेपाली दर्शकले भारतीय ब्लकबस्टर चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम र रियालिटी शो डिगोमार्फत हेर्न सक्ने भएका छन्।
जिओहटस्टारले मध्यपूर्व तथा उत्तर अफ्रिकामा विस्तार गरेको केही सातामै नेपालमा समेत सेवा विस्तार गरेको हो। भारतसँगको सांस्कृतिक सम्बन्ध र भारतीय मनोरञ्जनप्रति नेपाली दर्शकको आकर्षणलाई आधार बनाउँदै कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय पहुँच विस्तार गरेको जनाएको छ।
डिगोभित्रै जिओहटस्टारका लागि छुट्टै प्लेटफर्म उपलब्ध गराइएको छ। यसमा चलचित्र, ओरिजिनल सिरिज, दैनिक टेलिभिजन कार्यक्रम, रियालिटी शो तथा बालबालिकाका सामग्री समावेश छन्।
लन्चसँगै दर्शकले ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’ जस्ता चलचित्र हेर्न सक्नेछन्। त्यस्तै, ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसियल अप्स’ र ‘चिरैया’ लगायतका जिओहटस्टार ओरिजिनल सामग्री पनि उपलब्ध छन्।
यसका अतिरिक्त ‘बिग बोस’, ‘कफी विथ करण’ र ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम पनि प्लेटफर्ममा समेटिएका छन्। हिन्दीमा उपलब्ध क्षेत्रीय सामग्रीले समेत दर्शकलाई थप विकल्प दिने कम्पनीको भनाइ छ।
मासिक २४९ रुपैयाँदेखि सब्स्क्रिप्सन
डिगोले जिओहटस्टारका सामग्री हेर्न मोबाइल र प्लस गरी दुई प्रकारका सब्स्क्रिप्सन योजना ल्याएको छ। कम्पनीका अनुसार विशेष लन्च मूल्यअन्तर्गत मोबाइल प्लान एक महिनाका लागि २४९ रुपैयाँबाट सुरु हुन्छ।
मोबाइल प्लानको मूल्य एक महिनाका लागि २४९ रुपैयाँ, तीन महिनाका लागि ६९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ४९९ रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्लस प्लान एक महिनाका लागि ३९९ रुपैयाँ, तीन महिनाका लागि ८९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ६९९ रुपैयाँमा उपलब्ध छ।
दर्शकले [डिगोको वेबसाइट](https://www.watchdgo.com/) वा आईओएस, एन्ड्रोइड तथा स्मार्ट टिभीमा उपलब्ध डिगो एपमार्फत सब्स्क्रिप्सन लिन सक्नेछन्।
नेपाली सामग्री र अन्तर्राष्ट्रिय खेलकुद पनि एउटै प्लेटफर्ममा
जिओहटस्टारसँगको साझेदारीले डिगोमा उपलब्ध मनोरञ्जन सामग्रीको दायरा फराकिलो बनाएको कम्पनीले जनाएको छ। भारतीय सामग्रीसँगै डिगोले नेपाली चलचित्र तथा शोहरूलाई पनि प्राथमिकता दिने भएको छ। प्लेटफर्ममा प्रत्येक साता नयाँ नेपाली चलचित्र थप्ने योजना रहेको कम्पनीले जनाएको छ।
मनोरञ्जनका अतिरिक्त दर्शकले ला लिगा, मोटोजीपी र काराबाओ कपलगायतका अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न सक्नेछन्। कम्पनीका अनुसार यी सामग्री एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध हुनेछन् र तिनका लागि छुट्टै शुल्क तिर्नुपर्ने छैन।
जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय विस्तारको महत्त्वपूर्ण बजारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार पुस्तौंदेखि भारतीय चलचित्र, टेलिभिजन कार्यक्रम र कलाकारलाई पछ्याउँदै आएका दर्शक रहेको नेपालमा डिगोसँगको सहकार्यले स्थानीय प्लेटफर्ममार्फत जिओहटस्टारका सामग्री सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ।
डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले यस साझेदारीलाई डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि महत्त्वपूर्ण उपलब्धि भनेका छन्। जिओहटस्टारका चलचित्र तथा शो, हरेक साता थपिने नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदलाई एउटै प्लेटफर्ममा उपलब्ध गराएर नेपाली दर्शकलाई थप विकल्प दिने कम्पनीको लक्ष्य रहेको उनले बताएका छन्।
जिओहटस्टारले भारतबाहेक बेलायत, क्यानडा, सिंगापुर, मध्यपूर्व तथा उत्तर अफ्रिका र नेपाललगायतका बजारमा आफ्नो पहुँच विस्तार गरिरहेको जनाएको छ। कम्पनीका अनुसार यसको लाइब्रेरीमा १९ भाषाका चलचित्र, ओरिजिनल सिरिज, प्रत्यक्ष खेलकुद, टेलिभिजन कार्यक्रम, एनिमे तथा बालबालिकाका सामग्री समावेश छन्।
नेपालमा डिगोसँगको साझेदारीले भारतीय मनोरञ्जन सामग्रीको पहुँच विस्तार गर्नुका साथै नेपाली दर्शकलाई स्थानीय तथा अन्तर्राष्ट्रिय सामग्री एउटै सब्स्क्रिप्सनमा उपलब्ध गराउने नयाँ विकल्प थपेको छ।


