काठमाडौं। दसैंपछि बजारमा कुखुराको मासुको माग घटेपछि काठमाडौं उपत्यकामा यसको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले मंगलबारदेखि लागू हुने गरी कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ३५० रुपैयाँ कायम गरेको छ।
यसअघि उपत्यकामा कुखुराको मासु प्रतिकिलो ३६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। नयाँ मूल्यअनुसार उपभोक्ताले अब प्रतिकिलो १५ रुपैयाँ कम मूल्यमा कुखुराको मासु खरिद गर्न पाउनेछन्।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार बजारमा मासुको खपत घट्नु र उत्पादन बढ्नु मूल्य घट्नुका मुख्य कारण हुन्।
उनले दसैंमा अपेक्षाअनुसार कुखुराको मासुको खपत नभएको र उत्पादन भने बढेकाले बजारमा आपूर्ति बढी भएको बताए। मागको तुलनामा आपूर्ति बढेपछि मूल्य समायोजन गर्नुपरेको उनको भनाइ छ।
दसैंलाई लक्षित गरेर कुखुरापालन तथा मासुको आपूर्ति बढाइए पनि बजारमा खपत कम हुँदा मूल्यमा दबाब परेको देखिन्छ। यस्तो अवस्थामा उत्पादित कुखुरा बजारमा बिक्री गर्न व्यवसायीले मूल्य घटाउनुपर्ने अवस्था आएको हो।
संघले निर्धारण गरेको नयाँ खुद्रा मूल्य काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा लागू हुनेछ।


