रोयल टुलिप चितवन तेस्रो वर्षमा, १५ करोड ५० लाखको आइपीओ ल्याउने तयारी

रोयल टुलिप चितवन तेस्रो वर्षमा, १५ करोड ५० लाखको आइपीओ ल्याउने तयारी

ट्याक्स खबर
मंगलवार, कार्तिक २५ २०८३
ट्याक्स खबर
मंगलवार, कार्तिक २५ २०८३
  • images

    काठमाडौं । चितवनको सौराहमा सञ्चालित पाँचतारे डिलक्स होटल रोयल टुलिप चितवनले सर्वसाधारणका लागि १५ करोड ५० लाख रुपैयाँको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। होटल सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख ५० हजार कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

    कम्पनीका अनुसार बोर्डमा दिएको निवेदन स्वीकृतिको चरणमा छ। अनुमति पाएपछि कम्पनीले उक्त परिमाणको आइपीओ निष्कासन गर्नेछ।

    कम्पनी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित तेस्रो वार्षिक साधारण सभामा होटलको व्यावसायिक अवस्था र आगामी योजनाबारे शेयरधनीलाई जानकारी गराइएको थियो।

    सभामा अध्यक्ष रामेश्वर शाहले होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यवसायले गति लिन थालेको बताए। सञ्चालनको छोटो अवधिमै आन्तरिक तथा बाह्य पर्यटकको आगमन उत्साहजनक रहेको उनको भनाइ थियो।

    होटलले सञ्चालनमा आएको एक वर्षभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न थालेको पनि अध्यक्ष शाहले जानकारी दिए। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको दायित्वसमेत असोजमै भुक्तानी गरिएको उनले बताए।

     पाँचतारे डिलक्स र खाद्य स्वच्छताको मान्यता 

    रोयल टुलिप चितवनले पर्यटन विभागबाट पाँचतारे डिलक्स होटलको मान्यता प्राप्त गरेको छ। परीक्षणकालको सुरुआतमै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनबाट तीनतारा (क) अर्थात् अतिउत्तम खाद्य स्वच्छता स्तरको वर्गीकरणसमेत पाएको कम्पनीले जनाएको छ।

    कम्पनीको दाबीअनुसार उक्त वर्गीकरण प्राप्त गर्ने यो चितवनको पहिलो पाँचतारे डिलक्स होटल हो।

    राप्ती नदी नजिकै जनकौली र कुमरोज सामुदायिक वनको छेउमा रहेको रिसोर्टमा ६५ वटा आधुनिक कोठा छन्। पाहुनाका लागि रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत सुविधा उपलब्ध छन्। होटलमा रिभल्भिङ रेस्टुरेन्टसमेत सञ्चालनमा छ।

    रिसोर्टको निर्माण तथा सजावटमा स्थानीय सामग्रीको प्रयोगलाई प्राथमिकता दिइएको छ। काठका फर्निचर, ढुंगा, टायल, जुटका गलैंचा, काठमा बनाइएका चित्र, स्थानीय सजावटका सामग्री र मान्द्राजस्ता वस्तुले होटलको आन्तरिक सजावटमा नेपालीपन झल्काउने प्रयास गरिएको छ।

    अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँग व्यवस्थापकीय सम्झौता गरेर होटल सञ्चालन भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ सुरु गरेको थियो। अहिले होटल पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend