पोखरामा राजस्व संकलन: आयकर र अन्तःशुल्कमा लक्ष्यभन्दा बढी असुली, मूल्य अभिवृद्धि कर, घरबहाल र ब्याज करमा भने लक्ष्य भेटिएन

पोखरामा राजस्व संकलन: आयकर र अन्तःशुल्कमा लक्ष्यभन्दा बढी असुली, मूल्य अभिवृद्धि कर, घरबहाल र ब्याज करमा भने लक्ष्य भेटिएन

ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८३
ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८३
  • images

    पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ। आयकर र अन्तःशुल्कमा लक्ष्यभन्दा बढी असुली भएपछि कार्यालयले समग्र राजस्व संकलन लक्ष्य नाघेको हो।

    कार्यालयले असोज मसान्तसम्म १ अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ उठाएको छ। यो लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी हो।

    आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाका अनुसार आयकर संकलनमा सबैभन्दा राम्रो प्रगति भएको छ। तीन महिनामा ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ आयकर उठाउने लक्ष्य रहेकामा १ अर्ब ८ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा करिब ३७ प्रतिशत बढी हो।

    अन्तःशुल्क र अन्य कर संकलन पनि लक्ष्यभन्दा माथि पुगेको छ। अन्तःशुल्कतर्फ ६ करोड १७ लाख ४५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ८ करोड ८३ लाख २२ हजार रुपैयाँ उठेको छ। यो लक्ष्यभन्दा ४३ प्रतिशत बढी हो। अन्य करमा ६१ लाख ७६ हजार रुपैयाँको लक्ष्य रहेकामा २ करोड ३७ लाख ६ हजार रुपैयाँ संकलन भएको छ।

    तर, मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा कार्यालय कमजोर देखिएको छ। असोजसम्म ५३ करोड ३२ लाख ९९ हजार रुपैयाँ भ्याट उठाउने लक्ष्य रहेकामा लक्ष्यभन्दा १५ प्रतिशत कम संकलन भएको छ।

    घरबहाल र ब्याज करतर्फ पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। घरबहाल करतर्फ १ करोड ८१ लाख ९१ हजार रुपैयाँको लक्ष्यमा १ करोड ३१ लाख ३८ हजार रुपैयाँ अर्थात् ७२ प्रतिशत मात्रै संकलन भएको छ। ब्याज करतर्फ ९ करोड ८८ लाख ८२ हजार रुपैयाँ उठाउने लक्ष्य रहेकामा ४ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात् ४९ प्रतिशत मात्रै उठेको छ।

    प्रमुख कर अधिकृत ढुङ्गानाले सरकारले उपलब्ध गराएका कर छुट सुविधा तथा करदाता प्रोत्साहनका कार्यक्रमले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको बताए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend