काठमाडौं । नेपाल र मलेसियाले डिजिटल प्रविधि तथा दूरसञ्चार क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन कतारको दोहा पुगेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मलेसियाका समकक्षीसँग भेटवार्ता गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन्।
नोभेम्बर १० मा भएको भेटमा दुवै देशबीच डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार, डिजिटल साक्षरता र प्रविधि विकासमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
भेटमा मलेसियाली मन्त्रीले आफ्नो देशले ५जी प्रविधि, स्याटेलाइट सञ्चार, डिजिटल सुरक्षा र व्यक्तिगत तथ्यांक संरक्षणलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए। त्यस्तै, सुलभ इन्टरनेट, विद्युतीय व्यापार, युवा जनशक्तिको क्षमता विकास र स्थानीय उद्यमशीलता प्रवर्द्धनमा पनि मलेसियाले काम गरिरहेको बताएका थिए।
जवाफमा मन्त्री तिमिल्सिनाले नेपालले पनि डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै दूरसञ्चार सेवाको पहुँच विस्तार र सुरक्षित तथा समावेशी डिजिटल वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
उनले डिजिटल साक्षरता, प्राविधिक क्षमता विकास र सुलभ दूरसञ्चार सेवाका क्षेत्रमा मलेसियाको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने बताए। यी क्षेत्रमा प्राविधिक तथा संस्थागत क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानका लागि नेपाल तयार रहेको उनको भनाइ थियो।
भेटवार्तामा प्रविधि सहकार्यसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकको विषयले पनि स्थान पाएको थियो। मन्त्री तिमिल्सिनाले मलेसियाको अर्थतन्त्र र समाजमा नेपाली नागरिकले पुर्याएको योगदानको चर्चा गर्दै उनीहरूप्रति मलेसिया सरकार र नागरिकले देखाएको सद्भावका लागि धन्यवाद व्यक्त गरे।
दुवै पक्षले डिजिटल कनेक्टिभिटी, क्षमता विकास र डिजिटल विश्वासका क्षेत्रमा सहकार्यका सम्भावना पहिचान गर्दै आगामी दिनमा संवाद र समन्वयलाई निरन्तरता दिने सहमति गरेका छन्।
भेटमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलसहित नेपाली तथा मलेसियाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो।


