कम्पनी बन्द गर्न के गर्नुपर्छ ? कस्ता कम्पनीले पाउँछन् जरिवाना छुट ?

कम्पनी बन्द गर्न के गर्नुपर्छ ? कस्ता कम्पनीले पाउँछन् जरिवाना छुट ?

बुधवार, मंसिर १० २०८३
बुधवार, मंसिर १० २०८३
  • images

    काठमाडौं। व्यवसाय सञ्चालन गर्न नसकेर बन्द गरेका, वर्षौंदेखि निष्क्रिय रहेका वा अब कम्पनी चलाउन नचाहने सञ्चालकका लागि कम्पनी खारेजीको प्रक्रिया र त्यसमा लाग्ने खर्च महत्त्वपूर्ण विषय हो।

    कारोबार बन्द गर्दैमा कम्पनी कानुनी रूपमा बन्द हुँदैन। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता खारेज गराउनुपर्ने हुन्छ। त्यसअघि वार्षिक विवरण, लेखापरीक्षण, कर तथा अन्य दायित्वसमेत मिलाउनुपर्ने हुन सक्छ।

    सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका र खारेजी प्रक्रियामा जान नसकेका कम्पनीलाई जरिवाना तथा दस्तुरमा सहुलियत दिएको छ। कम्पनी अद्यावधिक र खारेजीका लागि दिइएको छुट सुविधा उपयोग गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थपिएको छ।

    कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ। यसले वर्षौंदेखि कम्पनी सञ्चालन नगरेका तर दर्ता कायम राखेका कम्पनीलाई खारेजीको प्रक्रियामा जान अवसर दिएको छ।

    कम्पनीको प्रकृति र आर्थिक अवस्थाअनुसार खारेजीको प्रक्रिया फरक हुन्छ। कम्पनी ऐन, २०६३ मा स्वैच्छिक खारेजी, कार्यालयबाट हुने खारेजी र विशेष खारेजीको व्यवस्था छ।

    कस्ता कम्पनीले खारेजीको सुविधा लिन सक्छन् ?

    कम्पनी ऐनअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीले कानुनबमोजिम खारेजीको प्रक्रिया अघि बढाउन सक्छन्।

    - कम्पनी दर्ता गरे पनि अहिलेसम्म कारोबार सुरु नगरेका।

    - कारोबार सुरु गरेर पछि पूर्ण रूपमा बन्द गरेका।

    - लगातार तीन आर्थिक वर्षसम्म वार्षिक विवरण नबुझाएका।

    - कम्पनी सञ्चालनमा नरहेका र लामो समयदेखि निष्क्रिय रहेका।

    - कम्पनी सञ्चालन गर्न नसकेर कानुनी रूपमा दर्ता खारेज गर्न चाहेका।

    तर सबै कम्पनीका लागि एउटै प्रक्रिया लागू हुँदैन। कम्पनीको आर्थिक अवस्था, ऋण तथा दायित्व र कानुनी स्थितिका आधारमा उपयुक्त प्रक्रिया छनोट गर्नुपर्छ।

    कम्पनी खारेज गर्ने तीनवटा बाटा

    पहिलो : स्वैच्छिक खारेजी (दफा १२६–१३२):  कम्पनी सञ्चालन गर्न नचाहने तर ऋण तथा अन्य दायित्व पूर्ण रूपमा तिर्न सक्ने कम्पनीले स्वैच्छिक खारेजीको प्रक्रिया अपनाउन सक्छन्।

    यसका लागि कम्पनीका शेयरधनीले साधारणसभाबाट विशेष प्रस्ताव पारित गर्नुपर्छ। कम्पनीका सञ्चालकले आवश्यक छानबिनपछि कम्पनीले सबै ऋण तथा दायित्व एक वर्षभित्र पूर्ण रूपमा चुक्ता गर्न सक्ने लिखित घोषणा गर्नुपर्छ।

    त्यसपछि खारेजीको काम सम्पन्न गर्न इजाजतप्राप्त लिक्विडेटर नियुक्त गर्नुपर्छ। लिक्विडेटरले कम्पनीको सम्पत्ति, हिसाबकिताब र कागजात आफ्नो नियन्त्रणमा लिएर सम्पत्ति असुली, साहुको ऋण भुक्तानी र बाँकी सम्पत्ति शेयरधनीलाई वितरण गर्ने प्रक्रिया पूरा गर्छ।

    खारेजीको काम पूरा भएपछि लेखापरीक्षकको प्रतिवेदनसहित अन्तिम विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्छ। त्यसपछि कार्यालयले कम्पनीको नाम दर्ता किताबबाट हटाएर खारेजीको आदेश जारी गर्छ।

    दोस्रो : कम्पनी रजिस्ट्रारको कार्यालयबाट खारेजी (दफा १३६) :  कम्पनीले कारोबार सुरु नगरेको, लगातार तीन आर्थिक वर्षसम्म वार्षिक विवरण नबुझाएको वा कम्पनी सञ्चालनमा नरहेको पर्याप्त आधार भएमा कम्पनी रजिस्ट्रारको कार्यालयले पनि दर्ता खारेज गर्न सक्छ।

    तर यसरी खारेज गर्नुअघि कार्यालयले सम्बन्धित कम्पनीलाई कारणसहित सूचना दिनुपर्छ। सूचना प्राप्त गरेको दुई महिनाभित्र कम्पनीले खारेज हुन नपर्ने कारण पेस गर्न सक्छ। त्यस्तो कारण उचित नदेखिएमा कार्यालयले दर्ता खारेज गर्न सक्छ।

    यसरी कम्पनी खारेज भए पनि कम्पनीको बाँकी ऋण तथा दायित्व स्वतः समाप्त हुँदैन। कम्पनीका शेयरधनी तथा पदाधिकारीको कानुनी दायित्व कायम रहन सक्छ।

    तेस्रो : विशेष दर्ता खारेजी (दफा १३६क):  लामो समयदेखि कारोबार नगरेका तथा वार्षिक विवरण र जरिवाना नबुझाएका कम्पनीका लागि विशेष खारेजीको व्यवस्था गरिएको छ।

    दफा १३६क प्रारम्भ हुँदाका बखत कारोबार सञ्चालन नगरेका, सञ्चालनमा नरहेका, दफा ८० अनुसारको विवरण नबुझाएका वा दफा ८१ अनुसारको जरिवाना नतिरेका कम्पनीले यो व्यवस्था प्रयोग गर्न सक्छन्।

    यसका लागि कम्पनीको साधारणसभाबाट खारेजीको निर्णय गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिनुपर्छ। साधारणसभा बोलाउन नसकिने वा गणपूरक संख्या नपुगेका कारण बस्न नसक्ने अवस्था भए उपस्थित सञ्चालक वा शेयरधनीले निर्णय गरी निवेदन दिन सक्ने व्यवस्था छ।

    निवेदनसँग आवश्यक वार्षिक विवरण र दफा ८१ अनुसार लाग्ने जरिवाना वा कम्पनीको चुक्ता पुँजीको ०.५ प्रतिशत रकममध्ये जुन कम हुन्छ, सो रकम बुझाउनुपर्छ।

    निवेदन परेपछि कम्पनी खारेज गर्न नपर्ने कारण भए ३० दिनभित्र पेस गर्न राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरिन्छ। तोकिएको अवधिमा उचित कारण नआए कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता खारेज गर्न सक्छ।

    जरिवाना छुट कसरी पाइन्छ ?

    कम्पनी रजिस्ट्रारको कार्यालयले उपलब्ध गराएको सहुलियतअनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ।

    यसको लाभ लिन चाहने कम्पनीले निम्न प्रक्रिया पूरा गर्नुपर्छ :

    - कम्पनीको अवस्था र खारेजीको उपयुक्त प्रक्रिया यकिन गर्ने।

    - कम्पनीको वार्षिक विवरण अद्यावधिक गर्ने।

    - आर्थिक वर्ष २०८२/८३ सम्म लाग्ने नियमानुसारको कर, शुल्क तथा दस्तुर बुझाउने।

    - खारेजीका लागि आवश्यक साधारणसभाको निर्णय र अन्य कागजात तयार गर्ने।

    - कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन पेस गर्ने।

    - विशेष खारेजीको हकमा दफा १३६क र सम्बन्धित निर्देशिकाले तोकेको प्रक्रिया पूरा गर्ने।

    सरकारले यसअघि कात्तिक मसान्तसम्म दिएको समयसीमा दुई महिना थपेर पुस मसान्तसम्म पुर्‍याएको छ। त्यसैले छुट सुविधा लिन चाहने कम्पनीले थपिएको समयभित्र प्रक्रिया पूरा गर्नुपर्छ।

    खारेजीका लागि कुन-कुन कागजात चाहिन्छ ?

    कम्पनीको प्रकृति र खारेजीको प्रक्रियाअनुसार कागजात फरक पर्न सक्छन्। सामान्यतया निम्न कागजात आवश्यक पर्छन् :

    - कम्पनी दर्ता प्रमाणपत्र।

    - प्रबन्धपत्र तथा नियमावली।

    - साधारणसभाको निर्णय वा विशेष प्रस्ताव।

    - सञ्चालक समितिको निर्णय।

    - कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदन।

    - वार्षिक विवरण तथा शेयरधनीको विवरण।

    - कर चुक्ता प्रमाणपत्र वा करसम्बन्धी विवरण।

    - कम्पनीको सम्पत्ति तथा दायित्वको विवरण।

    - बैंक ऋण तथा अन्य दायित्व फर्छ्यौट भएको प्रमाण, लागू हुने अवस्थामा।

    - लिक्विडेटरको नियुक्ति तथा प्रतिवेदन, स्वैच्छिक खारेजीमा।

    विशेष खारेजीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयले जारी गरेको विशेष दर्ता खारेजीसम्बन्धी निर्देशिका, २०८२ अनुसार थप कागजात तथा प्रक्रिया पूरा गर्नुपर्छ।

    कर कार्यालयबाट पनि दर्ता खारेज गराउनुपर्छ ?

    पर्छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी खारेज हुँदैमा आन्तरिक राजस्व विभागमा रहेको प्यान तथा भ्याट दर्ता स्वतः खारेज भएको मानिँदैन। त्यसैले कर कार्यालयमा छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ।

    आयकरतर्फ 
    - अन्तिम आय विवरण बुझाउने।

    - बाँकी आयकर चुक्ता गर्ने।

    - कर परीक्षणका लागि आवश्यक कागजात पेस गर्ने।

    - कर चुक्ता प्रमाणपत्र तथा प्यान लगत कट्टाको प्रक्रिया पूरा गर्ने।

    भ्याटतर्फ :
    - अन्तिम भ्याट विवरण बुझाउने।

    - बाँकी भ्याट चुक्ता गर्ने।

    - मौज्दात तथा पूँजीगत सामानको कर हिसाब मिलाउने।

    - भ्याट दर्ता खारेजीका लागि निवेदन दिने।

     

    आन्तरिक राजस्व विभागका अनुसार भ्याट दर्ता खारेजीका लागि निवेदन दिएपछि करदाताले अन्तिम कर विवरण र बाँकी कर बुझाउनुपर्छ। कर कार्यालयले कर परीक्षण गरी बाँकी दायित्व यकिन गरेपछि दर्ता खारेज गर्छ।

    कम्पनी बन्द गर्दा ध्यान दिनुपर्ने कुरा

    कम्पनी बन्द गर्ने निर्णय गर्नुअघि सञ्चाल

    ऋण बाँकी छ भने : कम्पनीले सबै ऋण तिर्न सक्ने अवस्था छ कि छैन यकिन गर्नुपर्छ। ऋण तिर्न नसक्ने कम्पनीले सामान्य स्वैच्छिक खारेजीको बाटो अपनाउन मिल्दैन। त्यस्तो अवस्थामा दामासाहीसम्बन्धी कानुनी प्रक्रिया आकर्षित हुन सक्छ।

    कर्मचारीको दायित्व : बाँकी तलब, सेवा सुविधा, सामाजिक सुरक्षा कोष तथा अन्य श्रमसम्बन्धी दायित्व फर्छ्यौट गर्नुपर्छ।

    कर विवरण : कारोबार नगरेको भए पनि दर्ता कायम रहेको अवधिको आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने हुन सक्छ।

    सम्पत्ति र बैंक खाता : कम्पनीको सम्पत्ति, मौज्दात, बैंक खाता, असुल गर्नुपर्ने रकम र अन्य अधिकारको हिसाब मिलाउनुपर्छ।

    स्थानीय तहको कर : व्यवसाय सञ्चालन भएको पालिकामा बुझाउनुपर्ने व्यवसाय कर, घरबहाल कर तथा अन्य स्थानीय दायित्व फर्छ्यौट गर्नुपर्ने हुन सक्छ।

    एकलौटी फर्म र साझेदारी व्यवसायको प्रक्रिया फरक

    कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनी र घरेलु तथा साना उद्योग वा वाणिज्य कार्यालयमा दर्ता भएका फर्मको खारेजी प्रक्रिया एउटै होइन।

    एकलौटी फर्म तथा साझेदारी व्यवसायले आफू दर्ता भएको निकायमा खारेजीका लागि निवेदन दिनुपर्छ। सम्बन्धित निकायअनुसार कर चुक्ता प्रमाणपत्र, दर्ता प्रमाणपत्र, नवीकरणको विवरण, ऋण तथा दायित्व नभएको स्वघोषणा र अन्य आवश्यक कागजात पेस गर्नुपर्ने हुन्छ।

    स्थानीय तहमा दर्ता भएका व्यवसायले सम्बन्धित पालिकामा पनि दर्ता खारेज गराउनुपर्छ। एउटै व्यवसाय विभिन्न निकायमा दर्ता भएको छ भने सबै निकायको अभिलेख अद्यावधिक गर्नुपर्छ।

    यसरी कम्पनी वा फर्म बन्द गर्दा दर्ता भएको निकाय, कर कार्यालय र स्थानीय तहको प्रक्रिया छुट्टाछुट्टै पूरा गर्नुपर्ने भएकाले व्यवसायीले सुरुमै आफ्नो व्यवसायको कानुनी स्वरूप पहिचान गर्नु आवश्यक हुन्छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend