काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत, जापान, सिंगापुर र युरोपेली संघ (ईयू) सहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेको छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (USTR) ले औद्योगिक उत्पादन क्षमताभन्दा बढी उत्पादन गरी विश्व बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको आरोप लगाउँदै यस्तो प्रस्ताव अघि बढाएको हो।
प्रस्तावमा चीनका वस्तुमा २० प्रतिशतसम्म, भारतमा २५ प्रतिशतसम्म, भियतनाममा ३५ प्रतिशतसम्म र सिंगापुरमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने उल्लेख छ। व्यापार सम्झौता भएका देशका हकमा शुल्कको दर घटाउन सकिने प्रस्ताव पनि गरिएको छ।
चीन, भारत, जापान र सिंगापुरले अमेरिकी आरोपप्रति असन्तुष्टि जनाएका छन्। चीनले अमेरिकी कदमलाई राजनीतिक हेरफेरको बहाना भन्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ। भारतले आफ्नो अर्थतन्त्रमा संरचनागत अतिरिक्त उत्पादन क्षमता रहेको अमेरिकी दाबी अस्वीकार गरेको छ।
बीबीसीसँगको अन्तर्वार्तामा एसियाली विकास बैंकका पूर्व प्रमुख अर्थशास्त्री जयन्त मेननले अमेरिकी ट्यारिफ नीतिलाई व्यापारिक साझेदारमाथि दबाब सिर्जना गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो विवाद केवल व्यापारिक शुल्कमा सीमित छैन, अमेरिका र चीनबीच विश्व आर्थिक शक्ति बन्ने प्रतिस्पर्धासँग पनि जोडिएको छ।
उनले ट्यारिफको भार अन्ततः अमेरिकी आयातकर्ता र उपभोक्ताले समेत बेहोर्नुपर्ने भएकाले अमेरिकाभित्र महँगी बढ्न सक्ने बताएका छन्। अमेरिकाको प्रस्ताव तत्काल लागू हुने छैन। जनवरी ५, २०२७ सम्म लिखित प्रतिक्रिया मागिएको छ भने जनवरी २५ देखि सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम छ।
अमेरिका र चीनबीचको व्यापारिक तनाव बढेमा नेपालमा पनि अप्रत्यक्ष असर पर्न सक्छ। विशेषगरी चीन र भारतबाट आयात हुने औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा उपभोग्य वस्तुको मूल्य र आपूर्ति प्रभावित हुन सक्ने जोखिम छ।



