काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब नगद बोकेर हिँड्नुपर्ने बाध्यता कम हुने भएको छ। फोनपेले नबिल बैंकसँगको सहकार्यमा विदेशी पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ।
यो एप प्रयोग गरेर विदेशी पर्यटकले नेपालभरका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन्। यससँगै नेपालका स्थानीय उपभोक्ताले प्रयोग गर्दै आएको क्यूआर भुक्तानी सुविधा विदेशी पर्यटकका लागि पनि उपलब्ध हुने भएको छ।
एप प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) मार्फत दर्ता गर्नुपर्नेछ। त्यसपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्ड प्रयोग गरेर एपमा रकम लोड गर्न सकिनेछ।
एपमा रकम जम्मा गरेपछि पर्यटकले फोनपे क्यूआर कोड स्क्यान गरेर होटल, पसल, रेस्टुरेन्टलगायत फोनपे नेटवर्कमा आबद्ध व्यवसायमा भुक्तानी गर्न सक्नेछन्।
यस सुविधाले नेपाल भ्रमणका क्रममा दैनिक कारोबारका लागि नगदमै निर्भर हुनुपर्ने अवस्था कम गर्ने र विदेशी पर्यटकलाई डिजिटल भुक्तानीमा सहज पहुँच दिने अपेक्षा गरिएको छ।
एप सार्वजनिक गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालको क्यूआर भुक्तानी पूर्वाधारलाई अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्ने उद्देश्यले नेपाल नाउ ल्याइएको बताए।
उनका अनुसार यसले पर्यटकको दैनिक भुक्तानी सहज बनाउनुका साथै स्थानीय व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिन थप अवसर प्रदान गर्नेछ।
नेपालमा डिजिटल भुक्तानीको पहुँच विस्तार भइरहेको अवस्थामा विदेशी पर्यटकलाई समेत विद्यमान क्यूआर नेटवर्कमा जोड्ने यो पहलले पर्यटन र डिजिटल वित्तीय सेवाबीचको सहकार्यलाई थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ।
नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको फोनपेले जनाएको छ।



