काठमाडौं । कुनै समय नेपालको औद्योगिक इतिहासको पहिचान बनेको विराटनगर जुट मिल फेरि सञ्चालनमा आउने प्रक्रिया अघि बढेको छ। वर्षौंदेखि बन्द रहेको देशकै पहिलो आधुनिक उद्योगलाई पुनर्जीवन दिन सरकारले निजी क्षेत्रको लगानी भित्र्याउने प्रक्रिया थालेको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनाभित्रै जुट मिल सञ्चालनका लागि रणनीतिक लगानीकर्ता खोज्ने प्रक्रिया अघि बढाएका छन्। यसका लागि विराटनगर जुट मिल लिमिटेडले बुधबार (मंसिर ९ गते) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा उद्योग सञ्चालन गर्न इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र (ईओआई) माग गरेको छ।
सरकारको योजना सफल भए विराटनगर जुट मिलमा दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन हुनेछ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने सरकारी प्रक्षेपण छ। यसले लामो समयदेखि बन्द रहेको उद्योगलाई मात्रै होइन, जुट खेती, प्रशोधन र यससँग जोडिएको आपूर्ति शृंखलालाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
लगानी आकर्षित गर्न सरकारले मिलको सम्पत्ति र दायित्व व्यवस्थापनलाई पनि छुट्टै ढंगले अघि सारेको छ। विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराउने योजना छ।
त्यस्तै, मिलका पुराना वित्तीय, प्रशासनिक र श्रमसम्बन्धी दायित्व नयाँ लगानीकर्तामाथि नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। पुराना दायित्व मिल व्यवस्थापनले नेपाल सरकारको सहयोगमा व्यवस्थापन गर्ने अर्थात् रिङ फेन्सिङको व्यवस्था गरिएको छ।
यसले विगतको ऋण र विवादको भार नबोकी नयाँ लगानीकर्तालाई उद्योग सञ्चालनमा केन्द्रित हुन सहज बनाउने सरकारको अपेक्षा छ।
लगानीकर्तालाई औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मेसिनरी आयातमा भन्सार सहुलियत र लाभांश फिर्ता लैजान पाउने सुविधासमेत उपलब्ध गराइनेछ। सुरुवाती वर्षमा लिज भाडामा सहुलियत दिने प्रस्ताव पनि अघि सारिएको छ।
आशयपत्रपछि एक महिनाभित्र समझदारीको लक्ष्य
जुट मिल पुनः सञ्चालनका लागि सरकारले अनुभवी र आर्थिक रूपमा सक्षम लगानीकर्ता छनोट गर्ने जनाएको छ। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ।
आशयपत्र पेस गर्ने अवधि सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने योजना छ। त्यसपछि उद्योगको पुनरुत्थान, आधुनिकीकरण र सञ्चालनको प्रक्रिया अघि बढाइनेछ।
९० वर्ष पुरानो औद्योगिक इतिहास फेरि फर्काउने प्रयास
विराटनगर जुट मिल सन् १९३६ अर्थात् विसं १९९३ मा स्थापना भएको नेपालको पहिलो आधुनिक उद्योग हो। यसले कुनै समय देशको औद्योगिक उत्पादन र रोजगारीमा महत्त्वपूर्ण योगदान गरेको थियो।
तर राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी र आर्थिक समस्याका कारण उद्योग पटक–पटक बन्द हुँदै आयो। लामो समयदेखि उत्पादन ठप्प हुँदा उद्योगको भौतिक संरचना र उत्पादन क्षमता पनि प्रभावित भएका छन्।
अब सरकारले निजी लगानीमार्फत पुरानो उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ। उद्योग मन्त्रालयले बन्द उद्योगहरूको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै मन्त्रिपरिषद्स्तरबाट नीतिगत निर्णय गराएर लगानीकर्ताका लागि आशयपत्र आह्वान गर्ने वातावरण तयार पारेको जनाएको छ।



