महँगी नियन्त्रण गर्न एमालेको माग, घरायसी बिजुलीमा लगाइएको कर फिर्ता लिनुपर्ने

महँगी नियन्त्रण गर्न एमालेको माग, घरायसी बिजुलीमा लगाइएको कर फिर्ता लिनुपर्ने

शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • images

    काठमाडौं। नेकपा एमालेले बढ्दो महँगी नियन्त्रण गर्न र घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतमा लगाइएको कर फिर्ता लिन सरकारसँग माग गरेको छ। मङ्सिर २ र ३ गते काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले पारित गरेको २१ बुँदे समसामयिक विशेष प्रस्तावमार्फत यस्तो माग गरेको हो।

    एमालेले महँगी, अभाव र अन्धाधुन्ध बढाइएको करका कारण नागरिक आक्रान्त बनेको उल्लेख गरेको छ। दैनिकजसो भइरहेका आत्मदाह, आत्महत्या र युवाहरूको विदेश पलायनले समाजमा निराशा बढ्दै गएको पनि प्रस्तावमा उल्लेख छ।

    व्यवसायीहरूको मनोबल इतिहासमै कमजोर अवस्थामा पुगेको र लगानी सङ्कुचित हुँदै गएको एमालेको दाबी छ। व्यवसायीलाई त्रसित पार्ने गतिविधि बन्द गरी अनुकूल व्यावसायिक वातावरण बनाउन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ।

    भेलाले बालेन्द्र शाह नेतृत्वको सरकारको आठ महिने कार्यकाललाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन र स्वेच्छाचारी शासनका रूपमा व्याख्या गरेको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै एमालेले सरकारको आलोचना गरेको छ।

    त्यस्तै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। उक्त घटनासम्बन्धी प्रतिवेदन लुकाइएको र राजनीतिक नेतृत्वविरुद्ध बदनियतपूर्ण मुद्दा चलाइएको एमालेको आरोप छ।

    एमालेले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्पसमेत गरेको छ।

    अध्यक्ष ओलीले भेलामा पार्टीले चुनावी परिणामका कारण मात्रै धक्का नबेहोरेको भन्दै सरकार अपदस्थ गरिएदेखि नै समस्या सुरु भएको बताएका थिए। लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने उनको भनाइ थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend