काठमाडौं । एनसेलले आफ्नो दूरसञ्चार नेटवर्कबाट थ्रीजी प्रविधि पूर्ण रूपमा हटाउने भएको छ। कम्पनीले आगामी एक महिनाभित्र देशभर सञ्चालनमा रहेका सबै थ्रीजी साइट बन्द गरी फोरजी नेटवर्कलाई थप सुदृढ बनाउने प्रक्रिया अघि बढाएको छ।
एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये ९९२ वटा बन्द भइसकेका छन्। बाँकी २ हजार १३७ साइट पनि चार चरणमा बन्द गरिनेछन्। यससँगै २०७४ सालदेखि सञ्चालनमा रहेको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा विस्थापित हुनेछ।
थ्रीजी बन्द गर्ने अभियान मंसिर ७ गतेदेखि सुरु हुनेछ। पहिलो चरणमा लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।
त्यस्तै, मंसिर २१ गते तेस्रो चरणमा मधेश र गण्डकी प्रदेशका बाँकी क्षेत्र तथा चितवनका साइट बन्द गरिनेछन्। अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट पनि बन्द गर्ने कम्पनीको योजना छ।
पुरानो प्रविधि हटाएर त्यसमा प्रयोग भइरहेको फ्रिक्वेन्सी फोरजी सेवाको क्षमता बढाउन उपयोग गर्ने एनसेलको रणनीति छ। यसबाट नेटवर्कको कार्यक्षमता बढ्नुका साथै ग्राहकले अझ गुणस्तरीय सेवा पाउने कम्पनीको अपेक्षा छ।
थ्रीजी सेवा बन्द भएपछि ग्राहकले फोरजी नेटवर्कमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिबाट भ्वाइस कल गर्न सक्नेछन्। यस प्रविधिमा कल गर्दा आवाजको गुणस्तर सुधार हुने, फोन छिटो लाग्ने र कुराकानीकै क्रममा पनि फोरजी इन्टरनेट चलाउन सकिने सुविधा हुन्छ।
भोल्टे प्रयोग गर्न भने ग्राहकसँग फोरजी सिम र उक्त प्रविधि समर्थन गर्ने मोबाइल फोन हुनुपर्नेछ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिको सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउँदै नयाँ प्रविधिमा लगानी बढाउने उद्देश्यले थ्रीजी विस्थापन गर्न लागिएको बताइन्।
उनका अनुसार थ्रीजी बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सी फोरजी नेटवर्कको क्षमता विस्तार र कनेक्टिभिटी सुधारमा प्रयोग गरिनेछ। यसले भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक पूर्वाधार तयार पार्नसमेत सहयोग गर्नेछ।
फोरजीमा नपुगेका ग्राहकका लागि टुजी विकल्प
थ्रीजी बन्द गर्दा फोरजीमा जान नसकेका ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने चुनौती पनि एनसेलसामु छ। कम्पनीले त्यस्ता ग्राहकलाई टुजी नेटवर्कमार्फत भ्वाइस कल र एसएमएस सेवा उपलब्ध गराउने जनाएको छ।
एनसेलको फोरजी सेवा हाल नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगेको कम्पनीको दाबी छ। तर, सक्रिय ग्राहकको करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग नगरेको कम्पनीले जनाएको छ।
कंसाकारले थ्रीजी विस्थापनको क्रममा कुनै पनि ग्राहक डिजिटल पहुँचबाट बाहिर नपरून् भन्नेमा कम्पनी सचेत रहेको बताएकी छन्।



