दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको अवसर, मंसिर मसान्तभित्र बक्यौता बुझाउन आग्रह

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको अवसर, मंसिर मसान्तभित्र बक्यौता बुझाउन आग्रह

बक्यौता रकम र १ प्रतिशत थप रकम बुझाए जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने; इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० कार्य दिनभित्र पेस गर्न निर्देशन

बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • images

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता शुल्क, दस्तुर तथा करमा लाग्ने जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ। आर्थिक ऐन, २०८३ ले दिएको सुविधाअनुसार मंसिर मसान्तभित्र बक्यौता रकम र त्यसको १ प्रतिशत थप रकम दाखिला गरेमा जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।

    प्राधिकरणले मंसिर २ गते जारी सूचनामार्फत अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकलाई उक्त सुविधा उपयोग गर्न आग्रह गरेको हो।

    आर्थिक ऐन, २०८३ को दफा ४९ अनुसार सालबसाली आर्थिक ऐनबमोजिम शुल्क, दस्तुर वा कर दाखिला गर्नुपर्ने दायित्व भएका व्यक्ति तथा संस्थाले रकम नबुझाएको, कम बुझाएको वा आवश्यक विवरण पेस नगरेको अवस्थामा यो सुविधा लिन सक्नेछन्।

    यसका लागि सम्बन्धित सेवा प्रदायकले बक्यौता रकम, त्यसको १ प्रतिशत बराबर थप रकम र आवश्यक विवरण संवत् २०८३ मंसिर मसान्तभित्र बुझाउनुपर्नेछ। तोकिएको अवधिमा रकम दाखिला गरेमा बक्यौतामा लागेको जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने व्यवस्था छ।

    शुल्क, दस्तुर वा कर निर्धारण भई बक्यौता कायम भएका अवस्थामा पनि यो सुविधा लागू हुनेछ। अदालत वा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत सुविधा लिन सकिने भए पनि सम्बन्धित मुद्दा फिर्ता लिनुपर्नेछ। त्यसपछि निर्धारित बक्यौता र १ प्रतिशत थप रकम दाखिला गरेमा जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।

    प्राधिकरणले यही व्यवस्थाअनुसार बक्यौता रहेका दूरसञ्चार सेवा प्रदायकलाई समयसीमाभित्र रकम बुझाउन आग्रह गरेको छ।

    टीएससी विवरण १० कार्य दिनभित्र बुझाउनुपर्ने

    प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी मासिक विवरण पनि पेस गर्न निर्देशन दिएको छ।

    आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा (५) अनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन प्राधिकरणले तोकेबमोजिम हुने व्यवस्था रहेको भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनासम्म दाखिला गरिएको दस्तुरको विवरण माग गरेको हो।

    इन्टरनेट सेवा प्रदायकले आवश्यक कागजातसहित सूचना प्राप्त भएको मितिले १० कार्य दिनभित्र विवरण बुझाउनुपर्नेछ। प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

    विवरणमा इन्टरनेट बिक्रीबाट प्राप्त आय, मर्मत सम्भारबापतको आय, उपकरण बिक्रीबाट प्राप्त आय र अन्य आय खुलाउनुपर्नेछ। यी शीर्षकको कुल आयसमेत उल्लेख गर्नुपर्नेछ।

    त्यस्तै, दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको, दाखिला गरिएको रकम, दाखिला मिति, ढिलाइ भएमा बुझाइएको ब्याज र दस्तुर तथा ब्याजसहितको कुल रकमसमेत खुलाउनुपर्नेछ।

    आर्थिक ऐन, २०८३ अनुसार दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट उठाउने महसुलको १० प्रतिशत दूरसञ्चार सेवा दस्तुर असुल गरी अर्को महिनाको २५ गतेभित्र सरकारी राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था छ। निर्धारित समयभित्र रकम दाखिला नगरेमा बाँकी रकममा मासिक ५ प्रतिशत ब्याज लाग्ने व्यवस्था रहेको छ।

    प्राधिकरणका यी सूचनाले दूरसञ्चार सेवा प्रदायकलाई एकातर्फ पुरानो बक्यौता जरिवाना तथा ब्याज मिनाहाको अवसर दिएको छ भने अर्कोतर्फ दूरसञ्चार सेवा दस्तुरको मासिक विवरण र दाखिलाको अवस्थालाई व्यवस्थित तथा निगरानी गर्न खोजेको देखिन्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend