काठमाडाैं। सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३२ लाख नाघेको छ।
तर कोषमा आबद्धताको तथ्यांक हेर्दा स्वदेशको श्रम बजारभन्दा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हिस्सा अस्वाभाविक रूपमा ठूलो देखिएको छ। अर्कोतर्फ, देशभित्रै ठूलो संख्यामा श्रमिक कार्यरत रहेको अनौपचारिक क्षेत्र भने सामाजिक सुरक्षाको पहुँचबाहिरै छ।
कोषको तथ्यांकअनुसार गत असोज मसान्तसम्म ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता आबद्ध भएका छन्। उनीहरूबाट हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान संकलन भएको छ।
कुल योगदानकर्तामध्ये वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या मात्रै २४ लाख ५० हजार ९५८ छ। यो कुल योगदानकर्ताको करिब ७५ प्रतिशत हो। अर्थात् सामाजिक सुरक्षा कोषमा आबद्ध प्रत्येक चार जनामध्ये तीन जना वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक छन्।
यसले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारी प्रयास प्रभावकारी देखिए पनि स्वदेशभित्रकै श्रमिकलाई समेट्ने चुनौती कायमै रहेको देखाउँछ।
औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना कोषमा आबद्ध छन्। त्यसैगरी अनौपचारिक क्षेत्रबाट १ हजार १६८ र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना मात्रै आबद्ध भएका छन्।
अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ताको संख्या जोड्दा पनि २ हजार ६६० मात्रै पुग्छ। कुल योगदानकर्ताको तुलनामा यो हिस्सा अत्यन्त न्यून हो। जबकि देशको श्रम बजारमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको संख्या ठूलो छ।
बागमतीमा केन्द्रित औपचारिक क्षेत्र
औपचारिक क्षेत्रका रोजगारदाता र योगदानकर्ताको भौगोलिक वितरणमा पनि बागमती प्रदेशको वर्चस्व देखिएको छ।
कोषमा औपचारिक क्षेत्रका २३ हजार ८०७ रोजगारदाता संस्था आबद्ध छन्। त्यसमध्ये बागमती प्रदेशका मात्रै १५ हजार ५५१ संस्था छन्। यो कुल रोजगारदाता संस्थाको करिब ६५ प्रतिशत हो।
प्रदेशगत रूपमा कोशीका २ हजार ७०३, मधेसका १ हजार ३२१, गण्डकीका १ हजार ४२८, लुम्बिनीका २ हजार १९०, कर्णालीका ३१४ र सुदूरपश्चिमका ३८० रोजगारदाता संस्था कोषमा जोडिएका छन्।
यसले औपचारिक रोजगारी र संगठित व्यवसायको उपस्थिति बागमतीमा बढी केन्द्रित रहेको देखाउँछ। निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत श्रमिकहरू कोषमा आबद्ध भइरहेका छन्।
२२ अर्ब ९० करोड दाबी भुक्तानी
कोषले योगदानकर्ताका लागि चार प्रकारका सामाजिक सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना छन्।
यी योजनामार्फत योगदानकर्ताले स्वास्थ्य उपचार, दुर्घटना वा अशक्तता भएमा आर्थिक सुरक्षा, मृत्यु भएमा आश्रित परिवारलाई सुविधा तथा वृद्धावस्थामा पेन्सन र अवकाश सुविधा प्राप्त गर्ने व्यवस्था छ।
कोषको तथ्यांकअनुसार हालसम्म संकलित १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँमध्ये विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन कोषले औपचारिक क्षेत्रसँगै वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि समेट्ने व्यवस्था गरेको छ।



