काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपाल र भारतका दुई प्रमुख धार्मिक सहरलाई जोड्ने रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
भारतीय रेल मन्त्रालयले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई शनिबार (नोभेम्बर १४) स्वीकृति दिएको हो।
भारतको यो निर्णयलाई प्रधानमन्त्री शाहको आसन्न भ्रमणसँग जोडेर हेरिएको छ। भारतीय सञ्चारमाध्यम *द टाइम्स अफ इन्डिया*का अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाहले आगामी नोभेम्बर २३ मा नयाँदिल्लीबाट भर्चुअल माध्यमबाट रेल सेवाको संयुक्त उद्घाटन गर्ने सम्भावना छ। शाह नोभेम्बर २२ अर्थात् मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ।
भारतको रेल मन्त्रालयले स्वीकृति दिएको यो सेवा सञ्चालनमा आएपछि रामायणसँग सम्बन्धित दुई प्रमुख धार्मिक गन्तव्यबीच सीधा रेल सम्पर्क स्थापित हुनेछ। माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थल मानिने अयोध्यालाई जोड्ने यो रेलमार्गलाई रामायण सर्किटअन्तर्गतको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
६०४ किलोमिटरको रेल यात्रा
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्या क्यान्टसम्म रेलले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ। बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै रेल अयोध्या पुग्नेछ।
स्वीकृत योजनाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार रेल छुट्नेछ भने अयोध्या क्यान्टबाट प्रत्येक सोमबार जनकपुरधामका लागि फर्किनेछ।
रेलका व्यावसायिक बिसौनीमा भारतको बिहार र उत्तर प्रदेशका १० वटा स्टेसन समावेश छन्। तीमध्ये बिहारतर्फ जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल र नरकटियागन्ज छन्। त्यस्तै उत्तर प्रदेशतर्फ गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रेल रोकिनेछ।
टाइम्स अफ इन्डियाका अनुसार प्रस्तावित रेलमा परम्परागत एलएचबी (लिङ्के होफम्यान बुश) कोच प्रयोग गरिनेछ। यात्रुका लागि एसी र स्लीपर दुवै प्रकारका सुविधा रहनेछन्। यद्यपि रेलको विस्तृत समयतालिका र टिकटको मूल्य भने छुट्टै सार्वजनिक गरिनेछ।
नोभेम्बर २३ मा उद्घाटनको तयारी
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरी रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि नेपाल र भारतका रेल, भन्सार, सुरक्षा तथा अध्यागमन अधिकारीहरूबीच सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थाबारे छलफल भएको थियो। नेपाल रेलवे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीलाई उद्धृत गर्दै *अनलाइनखबर*ले दुवै देशका प्रधानमन्त्रीबाट शाहको भारत भ्रमणका क्रममा रेल सेवाको उद्घाटन गराउने तयारी भइरहेको समाचार प्रकाशित गरेको थियो।
त्यसैगरी, भारतको टाइम्स अफ इन्डियाले नोभेम्बर २३ मा मोदी र शाहले संयुक्त रूपमा भर्चुअल उद्घाटन गर्न सक्ने उल्लेख गरेको छ। उक्त दिन अयोध्या धामबाट उद्घाटन रेल सञ्चालन गर्ने तयारी रहेको र नियमित व्यावसायिक सेवामा भने अयोध्या क्यान्टलाई प्रस्थान स्टेसन बनाइने भारतीय रेल अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।
यद्यपि भारतीय रेल मन्त्रालयले शनिबार जारी गरेको औपचारिक विज्ञप्तिमा व्यावसायिक सेवा सुरु हुने मिति, रेलको नम्बर, प्रस्थान तथा आगमनको समय र भाडादर खुलाएको छैन। त्यसैले नोभेम्बर २३ को उद्घाटन र व्यावसायिक सञ्चालनको मितिलाई अलग-अलग रूपमा बुझ्नुपर्ने देखिन्छ।
धार्मिक पर्यटनसँगै सीमावर्ती अर्थतन्त्रमा प्रभाव
भारतीय रेल मन्त्रालयले नयाँ रेल सेवाबाट धार्मिक पर्यटनका साथै शिक्षा, व्यापार र पारिवारिक प्रयोजनका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई समेत सहज हुने अपेक्षा गरेको छ।
विशेषगरी भारत र नेपालका धार्मिक पर्यटकलाई जनकपुरधाम र अयोध्या दुवै गन्तव्यको भ्रमण गर्न सहज हुनेछ। अहिले यी दुई धार्मिक सहरबीच यात्रा गर्न सडक तथा अन्य यातायातका माध्यम प्रयोग गर्नुपर्ने अवस्था छ। सीधा रेल सेवा सञ्चालन भएपछि यात्राका लागि अर्को विकल्प थपिनेछ।
भारतको रेल मन्त्रालयले यसबाट रेलमार्ग आसपासका पर्यटन व्यवसाय, होटल, स्थानीय व्यापार तथा परम्परागत हस्तकलासँग जोडिएका व्यवसायले लाभ लिन सक्ने जनाएको छ। बिहार र नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि पनि यो सेवा उपयोगी हुने भारतीय पक्षको अपेक्षा छ।
यसअघि भारतको जयनगरबाट नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। नयाँ सेवाले भने जनकपुरधामलाई भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म जोड्नेछ। यसले नेपाल–भारत रेल सम्पर्कलाई धार्मिक पर्यटनसँगै थप फराकिलो क्षेत्रीय यातायात सञ्जालमा विस्तार गर्ने अपेक्षा गरिएको छ।



