काठमाडाैं। नेपालको बाह्य क्षेत्रलाई रेमिट्यान्सले निरन्तर टेवा दिने भए पनि चालु खाता बचत भने उल्लेख्य रूपमा घट्ने अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले प्रक्षेपण गरेको छ।
फिचका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३६ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ। भूराजनीतिक तनावका बाबजुद रेमिट्यान्स आप्रवाह बलियो रहने अपेक्षा गरिएको छ। यसले आन्तरिक माग र उपभोगलाई निरन्तर सहयोग पुर्याउने फिचको विश्लेषण छ।
तर, चालु खाता बचतमा भने ठूलो गिरावट आउने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको १४ प्रतिशत रहेको चालु खाता बचत र आगामी आर्थिक वर्षमा औसत ५.६ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण छ।
पुनर्निर्माण तथा जलविद्युत् आयोजना विकासका लागि आवश्यक सामग्रीको आयात बढ्ने, विद्युत् निर्यातमा अस्थायी अवरोध आउने र पर्यटनबाट प्राप्त हुने आम्दानी घट्ने सम्भावनाले चालु खाता बचत खुम्चिने फिचको निष्कर्ष छ।
विशेषगरी बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा जलविद्युत् आयोजना पुनःनिर्माण गर्न आवश्यक उपकरण र निर्माण सामग्री आयात गर्नुपर्ने भएकाले आयात खर्च बढ्ने देखिएको छ। अर्कोतर्फ, विद्युत् निर्यात र पर्यटन आम्दानीमा आउन सक्ने कमीले विदेशी मुद्रा आर्जनमा दबाब सिर्जना गर्नेछ।
रेमिट्यान्सको निरन्तर प्रवाहले बाह्य क्षेत्रलाई केही राहत दिए पनि बढ्दो आयात र अन्य विदेशी मुद्रा आम्दानीका स्रोतमा देखिन सक्ने कमजोरीले चालु खाता बचतमा संकुचन आउने फिचको अनुमान छ।



