काठमाडाैं। सरकारले सबैभन्दा बढी कर तिर्ने करदाताको सूची विस्तार गर्दै यस वर्ष १९ विधाका कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ। विभिन्न क्षेत्रका अग्रणी व्यवसायिक संस्थादेखि व्यक्तिगत आयकरदातासम्मलाई समेटेर अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
सम्मानित हुने सूचीमा उत्पादनमूलक उद्योग, बैंक तथा वित्तीय संस्था, बीमा, पर्यटन, ऊर्जा, सूचना प्रविधि, रेमिट्यान्स र व्यापार क्षेत्रका कम्पनी छन्। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्नेमा राजबहादुर शाह परेका छन्।
संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको सम्मान सूर्य नेपाल प्रालिले पाएको छ। त्यस्तै, बैंकिङ क्षेत्रमा नबिल बैंक, पर्यटन क्षेत्रमा सोल्टी होटल र ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी उत्कृष्ट करदाताका रूपमा छनोट भएका छन्।
यस वर्षको सूचीले नेपालको कर प्रणालीमा योगदान पुर्याउने क्षेत्रको विविधता पनि देखाएको छ। परम्परागत उत्पादन तथा व्यापारिक कम्पनीसँगै सूचना प्रविधि सेवा निर्यात गर्ने, रेमिट्यान्स कारोबार गर्ने र बीमा तथा लघुवित्त क्षेत्रमा कार्यरत संस्थासमेत सम्मानित भएका छन्।
सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) ऐन, २०५२ कार्यान्वयनमा आएको दिन मंसिर १ लाई आधार बनाएर २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। कर दिवसका अवसरमा करदातालाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने करदाता सम्मान गर्ने गरिएको हो।
तर यसपटकको सम्मानमा एउटा नयाँ पक्ष पनि थपिएको छ। प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद कर दायित्व पूरा गर्ने कम्पनीलाई छुट्टै विधामा सम्मान गरिएको छ। यो विधामा भाटभटेनी सुपरमार्केट परेको छ। यससँगै सम्मानित करदाताको संख्या २० पुगेको छ।
यी हुन् २० उत्कृष्ट करदाता
१ संस्थागततर्फ सर्वाधिक आयकर- सूर्य नेपाल प्रालि
२ एकलौटी फर्म- थर्ड आई इन्टरनेसनल
३ वस्तु निर्यात- डाबर नेपाल प्रालि
४ सूचना प्रविधि सेवा- इनफाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
५ कृषि तथा पशुपन्छी उद्योग- ओसीबी फुड्स एन्ड फिड्स
६ बैंकिङ क्षेत्र- नबिल बैंक
७. स्वास्थ्य तथा शैक्षिक संस्था- नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
८. पर्यटन व्यवसाय- सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापार- सीजी इम्पेक्स प्रालि
१०. ५० देखि १०० करोडसम्म वार्षिक कारोबार- फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर
११ ऊर्जामूलक उद्योग- भोटेकोशी पावर कम्पनी
१२ रेमिट्यान्स तथा मनी ट्रान्सफर- आईएमई लिमिटेड
१३ व्यक्तिगत आयकर- राजबहादुर शाह
१४ सर्वाधिक मूल्य अभिवृद्धि कर- हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोडसम्म वार्षिक कारोबार- इम्पेरियल सेक्युरिटिज कम्पनी
१६. विशेष उद्योग- वरुण बेभरेज नेपाल
१७ जीवन बीमा- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल
१८ निर्जीवन बीमा- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
१९- लघुवित्त- छिमेक लघुवित्त वित्तीय संस्था
२० प्रतिकूल व्यावसायिक अवस्थाबीच उत्कृष्ट करदाता- भाटभटेनी सुपरमार्केट



