३०० रुपैयाँको चिउरा किन्दा १० लाखको उपहार, भक्तपुरका राम बने भाग्यमानी

३०० रुपैयाँको चिउरा किन्दा १० लाखको उपहार, भक्तपुरका राम बने भाग्यमानी

ट्याक्स खबर
मंगलवार, मंसिर २ २०८३
ट्याक्स खबर
मंगलवार, मंसिर २ २०८३
  • images

    काठमाडाैं। सामान्य किनमेल गर्दा लिएको एउटा बिलले भक्तपुरका राम श्रेष्ठलाई १० लाख रुपैयाँको मालिक बनाएको छ। उनले स्थानीय पसलबाट ३०० रुपैयाँको चिउरा किनेका थिए। सोही खरिदको विद्युतीय बिलका आधारमा गरिएको गोलाप्रथाबाट श्रेष्ठले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका हुन्।

    आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत श्रेष्ठ यसपटकको बम्पर पुरस्कार विजेता बनेका हुन्। विभागका अनुसार भक्तपुरको सूर्यविनायक निवासी श्रेष्ठले कात्तिक १६ देखि ३० गतेसम्मको कारोबार अवधिमा चिउरा खरिद गरेका थिए।

    उनले ३०० रुपैयाँको सामान किन्दा विद्युतीय माध्यमबाट जारी भएको आधिकारिक बिल लिएका थिए। उक्त बिल विभागको प्रणालीमा प्रविष्ट भएपछि लक्की ड्रमा छनोट हुँदा उनले १० लाख रुपैयाँ पुरस्कार पाएका हुन्।

    यो कार्यक्रमले उपभोक्ताले सामान्य किनमेलमा लिने बिल पनि ठूलो पुरस्कारको आधार बन्न सक्ने देखाएको छ। बिल लिने बानी विकास गराउने र बजारमा हुने कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले विभागले यस्तो योजना सञ्चालन गर्दै आएको छ।

    विशेषगरी उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा बिल नलिने प्रवृत्तिले व्यवसायको वास्तविक कारोबार लुकाउने र कर छलीलाई प्रश्रय दिने जोखिम रहन्छ। आधिकारिक बिल अनिवार्य गर्ने अभ्यासले कारोबारको अभिलेख राख्न र कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुग्छ।

    विभागले विद्युतीय बीजकलाई केन्द्रीय प्रणालीमा आबद्ध गरी त्यसका आधारमा उपभोक्तालाई पुरस्कार दिने व्यवस्था गरेको हो। यसबाट उपभोक्तालाई बिल लिन प्रोत्साहन मिल्ने र व्यवसायीलाई पनि कारोबार पारदर्शी बनाउन दबाब पर्ने विभागको अपेक्षा छ।

    विभागले सामान खरिद गर्दा मूल्य सानो वा ठूलो जस्तो भए पनि आधिकारिक भ्याट वा प्यान बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। ३०० रुपैयाँको चिउरा खरिद गर्दा लिएको बिलबाट १० लाख रुपैयाँ जितेका श्रेष्ठको उदाहरणले सानो कारोबारको बिल पनि उपभोक्ताका लागि महत्वपूर्ण हुन सक्ने देखाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend