ग्राहकसँगै विक्रेताले पनि पाउन थाले करदाता पुरस्कार, बिगमार्टले पायो

ग्राहकसँगै विक्रेताले पनि पाउन थाले करदाता पुरस्कार, बिगमार्टले पायो

मंगलवार, मंसिर २ २०८३
मंगलवार, मंसिर २ २०८३
  • images

    काठमाडाैं। कर तिरेको बिल लिने उपभोक्तालाई मात्रै पुरस्कार दिँदै आएको सरकारले अब बिल जारी गर्ने विक्रेतालाई पनि पुरस्कार दिन थालेको छ। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा विक्रेतालाई समेत समेटेपछि कर सहभागिता बढाउन खरिदकर्ता र व्यवसायी दुवैलाई प्रोत्साहित गर्ने नीति अघि बढेको छ।

    यसअघि उपभोक्ताले आधिकारिक बिल लिएबापत पुरस्कार पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाले बिल जारी गर्ने व्यवसायीलाई पनि पुरस्कारको दायरामा ल्याएको छ। यसको उद्देश्य व्यवसायीलाई प्रत्येक कारोबारको बिल जारी गर्न र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नु हो।

    यसअन्तर्गत राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेले तीन जनालाई पुरस्कार वितरण गरेका छन्।

    विक्रेतातर्फ बिगमार्टका प्रतिनिधि विवेक देवले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्। उपभोक्तातर्फ असोज १६ देखि ३१ गतेसम्मको कारोबारबाट छनोट भएकी सञ्चमाया तामाङ र कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट छनोट भएका गौरीशंकर पण्डितले जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन्।

    त्यस्तै, कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारबाट भक्तपुरका राम श्रेष्ठ १० लाख रुपैयाँको बम्पर पुरस्कारका लागि छनोट भएका छन्। उनले ३०० रुपैयाँको चिउरा खरिद गर्दा लिएको बिलका आधारमा पुरस्कार जितेका हुन्।

    नयाँ व्यवस्थाअनुसार विक्रेता प्रतिनिधिले दैनिक २५ हजार र पाक्षिक बम्परमा ५० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।

    विभागले यो कार्यक्रममार्फत उपभोक्तालाई बिल लिन र व्यवसायीलाई अनिवार्य बिल जारी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। यसबाट कारोबारको अभिलेख राख्न, कर छली नियन्त्रण गर्न र राजस्व प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend