रिलायबल लाइफको बीमा कोष ३५ प्रतिशतले बढ्यो, नाफा भने घट्यो

रिलायबल लाइफको बीमा कोष ३५ प्रतिशतले बढ्यो, नाफा भने घट्यो

ट्याक्स खबर
आइतवार, कार्तिक ३० २०८३
ट्याक्स खबर
आइतवार, कार्तिक ३० २०८३
  • images

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष एक वर्षमा ५ अर्ब रुपैयाँभन्दा बढीले विस्तार भएको छ। तर व्यवसायको आकार र बीमाशुल्क आम्दानी बढ्दै जाँदा पनि कम्पनीको नाफामा भने गिरावट आएको छ।

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ सञ्चित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो। यस आधारमा कोषको आकार एक वर्षमा ३५.३१ प्रतिशतले बढेको हो।

    बीमा व्यवसाय विस्तारसँगै कम्पनीको कुल बीमाशुल्क आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ थियो। यसमा वार्षिक २३.०६ प्रतिशतको वृद्धि देखिएको छ।

    त्यस्तै, असोजसम्म कम्पनीको खुद बीमाशुल्क आम्दानी १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क २३.८५ प्रतिशतले बढेको हो।

    तर आम्दानी र बीमा कोषमा भएको विस्तारको तुलनामा नाफाको अवस्था कमजोर देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा २५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको मुनाफा यस वर्ष ११.३९ प्रतिशतले घटेको हो।

    कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो कोषमा २८ करोड ७४ लाख रुपैयाँ थियो।

    यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब १ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोज मसान्तमा यस्तो रकम ८१ करोड ३४ लाख रुपैयाँ थियो। अन्य इक्विटी भने अघिल्लो वर्षको २ करोड ७३ लाख रुपैयाँबाट घटेर ६३ लाख १४ हजार रुपैयाँमा झरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend