काठमाडौं। होन्डा नेपालले दसैंलाई लक्षित गरी ल्याएको प्रवर्द्धनात्मक योजनामार्फत २१ जना विजेता छनोट गरेको छ। कम्पनीले सातै प्रदेशबाट हरेक हप्ता एक/एक जना छनोट गर्ने योजनाअन्तर्गत पहिलो तीन साताका विजेताको नाम सार्वजनिक गरेको हो।
होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दसैं, आशाको सुरुवात’ नारासहित ‘होन्डा छ साथ साथ’ अभियान सञ्चालन गरेको थियो। यसअन्तर्गत ग्राहकले लक्की ड्रमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्म जित्ने अवसर पाएका छन्।
यस योजनाको विशेष पक्ष भनेको ग्राहकले जितेको रकम बराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नु हो। कम्पनीले यसलाई ‘सहयोगको संकल्प’ नाम दिएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो साताका विजेतामध्ये प्रदेश २ का अफजल मियाँले सबैभन्दा बढी १ लाख रुपैयाँ जितेका छन्। प्रदेश ६ का पदमबहादुर शाहीले ५० हजार रुपैयाँ पाएका छन्। अन्य पाँच प्रदेशका विजेताले जनही १० हजार रुपैयाँ जितेका छन्।
दोस्रो सातामा प्रदेश ६ का मानसिंह दाहालले १ लाख रुपैयाँ जितेका छन्। प्रदेश ४ का बलराम थापाले ५० हजार र प्रदेश ३ का राजु महर्जनले २५ हजार रुपैयाँ पाएका छन्। बाँकी चार प्रदेशका विजेताले जनही १० हजार रुपैयाँ जितेका छन्।
तेस्रो साताका विजेतामध्ये प्रदेश १ का आशिष राईले ५० हजार रुपैयाँ जितेका छन्। अन्य ६ प्रदेशका विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कम्पनीका अनुसार तीन साताका २१ विजेतालाई कुल ५ लाख २५ हजार रुपैयाँ पुरस्कार वितरण हुनेछ। सोही बराबरको रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप योगदान गर्नेछ।
ग्राहकको उत्साह र सहभागिता बढेपछि कम्पनीले योजनाको अवधि पनि थप गरेको छ। यसअघि दसैंका लागि ल्याइएको योजना अब आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यसबाट थप ग्राहकले योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर पाउनेछन्।



