पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव ६ जना पक्राउ

पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव ६ जना पक्राउ

बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • images

    काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा रोजगारी प्रक्रियामा भएको भनिएको सिन्डिकेट र गैरकानुनी रकम संकलन प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।

    त्यसैगरी मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

    सीआईबीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।

    ब्युरोले ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मलेसिया जाने श्रमिकसँग सम्बन्धित प्रक्रियामा गैरकानुनी रूपमा रकम संकलन गरिएको र उक्त रकम विदेश पठाइएको विषय अनुसन्धानको केन्द्रमा रहेको छ। यस क्रममा अमेरिकी डलर ६ करोड ३९ लाखभन्दा बढी र बेलायती पाउन्ड ३ करोड ८७ लाखभन्दा बढी रकमको कारोबार भएको विवरण विज्ञप्तिमा उल्लेख छ।

    अनुसन्धानका क्रममा सम्बन्धित पदाधिकारीहरूले आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत काम गरेको तथा गैरकानुनी रकम संकलन रोक्न आवश्यक कानुनी उपचार नगरेको आरोपसमेत लगाइएको छ।

    सीआईबीले २०८३ मंसिर २ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो। त्यसपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

    मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा लामो समयदेखि विवादित रहेको सिन्डिकेट प्रकरणमा अब तत्कालीन राजनीतिक नेतृत्वदेखि मन्त्रालयका उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन्।

     

    आरोपित व्यक्तिहरूको कसुर अदालतबाट प्रमाणित हुन बाँकी छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend