काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो। यसले रेमिट्यान्सको रकम बढे पनि वृद्धिदर भने घटेको देखाउँछ।
असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। गत वर्ष यस्तो वृद्धि २९.२ प्रतिशत थियो।
रेमिट्यान्ससँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने सामान्य घटेको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४५९ थियो।
त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ। गत वर्ष यस्तो संख्या ७७ हजार २५७ थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो।
रेमिट्यान्स आप्रवाह बढेसँगै चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो।
त्यस्तै शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ थियो।



