विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्ने

तीन महिनामा सञ्चिति ६.८ प्रतिशतले बढ्यो, अमेरिकी डलरमा २७ अर्ब ३९ करोड पुग्यो

ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८३
ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८३
  • images

    काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा ६.८ प्रतिशतले बढेर असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो।

    गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा गणना गर्दा पनि सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर थियो।

    विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि बलियो देखिएको छ। राष्ट्र बैंकका अनुसार असोज मसान्तको सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ।

    सञ्चितिमध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल राष्ट्र बैंकसँग रहेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेकोमा असोज मसान्तमा ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड पुगेको छ।

    त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ९.८ प्रतिशतले बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ थियो।

    असोज मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा विदेशी मुद्रा सञ्चितिको अनुपात ६३ प्रतिशत पुगेको छ। त्यस्तै कुल आयातको तुलनामा सञ्चितिको अनुपात १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायको तुलनामा ४४.८ प्रतिशत रहेको छ।

    विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले तत्कालका लागि बाह्य क्षेत्रको भुक्तानी क्षमता र आयात धान्ने आधार बलियो रहेको देखाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend