काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को उच्च स्रोतले अर्याल प्रहरी नियन्त्रणमा आइसकेको पुष्टि गरेको हो।
स्रोतका अनुसार अर्याललाई नियन्त्रणमा लिइसकिएको छ। उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।
‘उहाँ हाम्रो नियन्त्रणमा आइसक्नुभएको छ। हामी चाँडै सार्वजनिक गर्छौँ,’ स्रोतले ट्याक्स खबरसँग भनेको छ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको सिन्डिकेट तथा गैरकानुनी रकम संकलन प्रकरणमा अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर पुगेका थिए। उनी भारतको कोलकाता पुगेको बुझिएको छ। भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ।
सीआईबी स्रोतका अनुसार अर्याललाई आजै नेपाल ल्याउने तयारी भइरहेको छ। उनको पक्राउ, नेपाल ल्याउने प्रक्रिया र अनुसन्धानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।
यसअघि यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जना पक्राउ परिसकेका छन्।
पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन्।
झन्डै दुई अर्ब रुपैयाँ हिनामिना भएको भनिएको यस प्रकरणमा तत्कालीन श्रमसचिवसमेत रहेका अर्यालको भूमिकाबारे अनुसन्धान भइरहेको छ।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी र गैरकानुनी रकम संकलन प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन्।



