कर प्रशासनभित्रै सदाचार परीक्षणको तयारी, कर्मचारीदेखि कार्यालयसम्म निगरानी गर्ने जिम्मेवारी

कर प्रशासनभित्रै सदाचार परीक्षणको तयारी, कर्मचारीदेखि कार्यालयसम्म निगरानी गर्ने जिम्मेवारी

भ्रष्टाचार नियन्त्रणका लागि आन्तरिक राजस्व विभागले तोक्यो सम्पर्क व्यक्ति, चौमासिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने; कर्मचारीको आचरणदेखि संस्थागत जोखिमसम्म मूल्यांकन हुने

ट्याक्स खबर
बिहिवार, मंसिर ११ २०८३
ट्याक्स खबर
बिहिवार, मंसिर ११ २०८३
  • images

    काठमाडौं । कर प्रशासनभित्र पारदर्शिता र जवाफदेहिता बढाउन आन्तरिक राजस्व विभागले आफ्नै कर्मचारी र मातहतका कार्यालयको सदाचारिता परीक्षण गर्ने व्यवस्था अघि बढाएको छ।

    भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनका लागि विभागले छुट्टै सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोकेर कर्मचारीको आचरण, कार्यालयका गतिविधि तथा संस्थागत जोखिमको निगरानी गर्ने जिम्मेवारी दिएको हो।

    यस व्यवस्थाले कर प्रशासनभित्र हुने अनियमितताको जोखिम पहिचान गर्ने, कर्मचारीविरुद्धका गुनासा सम्बोधन गर्ने र कार्यालयहरूको संस्थागत सदाचार मूल्यांकन गर्ने प्रक्रियालाई औपचारिक बनाउनेछ। यसअघि भ्रष्टाचार नियन्त्रणलाई मुख्यतः उजुरी, अनुसन्धान र कारबाहीसँग जोडेर हेरिँदै आएकोमा अब कार्यालयभित्रै जोखिम पहिचान र नियमित प्रतिवेदनको अभ्यास अघि बढाउन खोजिएको छ।

    करदातासँग प्रत्यक्ष जोडिने कार्यालयमा निगरानीको व्यवस्था

    आन्तरिक राजस्व विभागको काम कर निर्धारण, राजस्व संकलन, कर परीक्षण, कर फर्छ्योट तथा करदातालाई सेवा दिनेसँग जोडिएको छ। यस्ता काममा कर्मचारीको निर्णय र व्यवहारले करदाताको आर्थिक दायित्व तथा व्यावसायिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यसैले विभागले कर्मचारीको सदाचारसम्बन्धी गुनासो सुनुवाइ र संस्थागत जोखिम पहिचानलाई पनि नयाँ व्यवस्थामा समेटेको छ।

    विभागले अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सम्पर्क विन्दु तोकेको छ। सोही शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको छ।

    विभागका अनुसार उनलाई पाँचवटा मुख्य जिम्मेवारी दिइएको छ।

    -सदाचार शिक्षा र अभिमुखीकरण: विभागका कर्मचारीलाई सत्यनिष्ठा तथा सदाचारका नियमबारे जानकारी दिने र व्यवसायीलाई व्यावसायिक सदाचारसम्बन्धी शिक्षा दिने।

    -चौमासिक प्रतिवेदन: सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका गतिविधि र देखिएका समस्या समेटेर प्रत्येक चार महिनामा प्रतिवेदन तयार गर्ने। यस्तो प्रतिवेदन महानिर्देशकसमक्ष पेस गर्नुका साथै विभागको वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

    जोखिम पहिचान: विभाग र मातहतका कार्यालयमा सदाचारसम्बन्धी जोखिम देखिए महानिर्देशकलाई जानकारी गराउने। त्यस्ता जोखिम प्रतिवेदनमा समेटेर राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्नेछ।

    गुनासो सुनुवाइ: कर्मचारीको आचरण तथा सदाचारसँग सम्बन्धित गुनासो सुनुवाइ र सम्बोधनमा सहजीकरण गर्ने।

    संस्थागत मूल्यांकन: संस्थागत सदाचार सूचकांक (इन्स्टिच्युसनल इन्टिग्रिटी इन्डेक्स) का आधारमा विभाग र मातहतका कार्यालयको मूल्यांकन प्रक्रिया संयोजन गर्ने।

    सरकारको नीतिमा के छ ?

    आन्तरिक राजस्व विभागको यो निर्णय राष्ट्रिय सदाचार नीति, २०८३ कार्यान्वयनको एउटा हिस्सा हो। मन्त्रिपरिषद्ले असार १८ गते स्वीकृत गरेको नीतिले सरकारी निकायमा सदाचारलाई व्यक्तिगत आचरणमा मात्र सीमित नराखी संस्थागत प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। 

    नीतिले संघ, प्रदेश र स्थानीय तहका प्रत्येक सार्वजनिक निकायमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनका लागि सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरेको छ। सम्पर्क व्यक्तिले चौमासिक प्रतिवेदन संस्था प्रमुखलाई बुझाउनुपर्ने र वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ।

    त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्रलाई नीति कार्यान्वयनको अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ। केन्द्रले सरकारी निकायमा कानुन, मापदण्ड र आचारसंहिता पालना भए नभएको अनुगमन गरी सुधारका लागि सुझाव दिनेछ। नीतिअनुसार केन्द्रले वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्नेछ। 

    नीतिमा प्रत्येक सार्वजनिक निकायमा आन्तरिक सदाचार र सुशासन अनुपालन हेर्ने जिम्मेवार अधिकारी वा संयन्त्र गठन गर्ने व्यवस्था पनि छ। साथै स्वमूल्यांकन, आन्तरिक नियन्त्रण र जोखिममा आधारित सुपरिवेक्षणलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend