काठमाडौं। लामो समयदेखि वार्षिक विवरण नबुझाएका, कारोबार बन्द गरेर पनि कम्पनीको दर्ता खारेज नगरेका तथा कानुनी विवरण अद्यावधिक नगरेका कम्पनीलाई सरकारले दिएको जरिवाना छुटको सुविधा लिन थप दुई महिना समय दिएको छ।
यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा बढाएर आगामी पुस मसान्तसम्म पुर्याइएको हो। अर्थ मन्त्रालयको निर्णयअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले छुट सुविधा उपयोग गर्न बाँकी रहेका कम्पनीलाई थपिएको अवधिभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
आर्थिक ऐन, २०८३ को व्यवस्था अनुसार कम्पनी ऐनबमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा आवश्यक विवरण बुझाएमा त्यसअघिका आर्थिक वर्षको सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुनेछ।
यो सुविधा कम्पनी सञ्चालनलाई निरन्तरता दिन चाहने र कानुनी रूपमा दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनीका लागि हो।
कस्ता कम्पनीले पाउँछन् छुट ?
कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएका तर कानुनले तोकेको समयमा विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना नबुझाएका कम्पनीले यो सुविधा लिन सक्छन्।
विशेषगरी लामो समयदेखि कारोबार नगरेका, वार्षिक विवरण अद्यावधिक नगरेका र खारेजी प्रक्रियामा जान नसकेका कम्पनीका लागि यो व्यवस्था उपयोगी छ।
कति रकम बुझाउनुपर्छ ?
सहुलियत लिन चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउनुपर्छ। त्यसअघिका आर्थिक वर्षमा लागेको कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना भने मिनाहा हुने व्यवस्था छ।
उदाहरणका लागि कुनै कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि वार्षिक विवरण बुझाएको छैन भने उसले आर्थिक वर्ष २०८२/८३ सम्मको कानुनबमोजिम लाग्ने नियमित रकम र आवश्यक विवरण बुझाएर पुराना वर्षको जरिवाना तथा अतिरिक्त दस्तुर मिनाहाको सुविधा लिन सक्छ।
कम्पनी बन्द गर्न चाहनेले पनि पाउँछन् सुविधा
यो सहुलियत कम्पनी सञ्चालन गर्न चाहनेलाई मात्रै होइन, दर्ता खारेज गर्न चाहनेलाई पनि उपलब्ध छ।
कारोबार बन्द गरेर वर्षौंदेखि कम्पनीको दर्ता कायम राखेका सञ्चालकले आवश्यक निर्णय गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा खारेजी प्रक्रिया अघि बढाउन सक्छन्।
कम्पनीको प्रकृति र अवस्था हेरी स्वैच्छिक खारेजी, कार्यालयबाट हुने खारेजी वा विशेष दर्ता खारेजीको प्रक्रिया अपनाउन सकिन्छ। तर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता खारेज गर्दैमा आन्तरिक राजस्व विभागमा रहेको प्यान तथा भ्याट दर्ता स्वतः खारेज हुँदैन। त्यसका लागि कर कार्यालयको प्रक्रिया पनि पूरा गर्नुपर्छ।
झन्डै १० अर्बको जरिवाना तथा शुल्क मिनाहा
कम्पनी रजिस्ट्रारको कार्यालयले यसअघि दिएको सहुलियत अवधिमा ६७ हजार ९५९ कम्पनीलाई जरिवाना तथा शुल्कमा छुट दिएको थियो।
गत असार ७ देखि असोज मसान्तसम्म प्राप्त २ लाख २२ हजार ८९२ निवेदनका आधारमा ९ अर्ब ७० करोड ७३ लाख रुपैयाँभन्दा बढीको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गरिएको कार्यालयले जनाएको छ।
कार्यालयको विवरणअनुसार सबैभन्दा धेरै रकम वार्षिक विवरण अद्यावधिक गर्ने शीर्षकमा मिनाहा भएको छ। यसअन्तर्गत ४८ हजार ५५५ कम्पनीका १ लाख ९९ हजार ७१७ निवेदनमार्फत ९ अर्ब ४ करोड ८७ लाख रुपैयाँभन्दा बढी छुट दिइएको थियो।
त्यस्तै, दर्तापछिका विभिन्न कार्यमा छुट माग गर्दै परेका निवेदनबाट १४ हजार ७५९ कम्पनीले १२ करोड ३१ लाख रुपैयाँभन्दा बढी सहुलियत पाएका थिए।
कम्पनी खारेजीतर्फ दफा १३६ (१) अनुसार २ हजार ३७७ कम्पनीको ७० लाख ६१ हजार रुपैयाँ, दफा १२६ अनुसार स्वैच्छिक खारेजी रोजेका १ हजार ४८ कम्पनीको २८ लाख २ हजार रुपैयाँ तथा विशेष खारेजीतर्फ १ हजार २२० कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको जरिवाना तथा दस्तुर मिनाहा गरिएको थियो।
सरकारले पहिलो चरणमा दिएको समयसीमाभित्र अनलाइन प्रणालीमा चाप, कागजात पेस गर्न कठिनाइ तथा छुट सुविधा लिन नसकेका कम्पनीको मागलाई समेत ध्यानमा राखेर म्याद थप गरेको हो।
थपिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक गरी नियमित शुल्क तथा दस्तुर बुझाउन कार्यालयले आग्रह गरेको छ। पुस मसान्तपछि यो सहुलियतको म्याद पुनः थप हुने वा नहुनेबारे भने कुनै सुनिश्चितता छैन।



