काठमाडौं । भारतका थप समुद्री बन्दरगाह प्रयोग गर्न पाउनेदेखि रेलमार्ग र हवाई कनेक्टिभिटी विस्तारसम्मका सहमतिले नेपालको वैदेशिक व्यापारको लागत र प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमतिले नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि पारवहनका विकल्प विस्तार गर्ने सम्भावना देखाएको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने घोषणाले तेस्रो मुलुकसँगको व्यापारमा नयाँ विकल्प थप्नेछ। अहिले सीमित पारवहन मार्ग र बन्दरगाहमा निर्भर नेपालको व्यापारले थप विकल्प पाउँदा ढुवानी व्यवस्थापन सहज बनाउन सक्ने निजी क्षेत्रको अपेक्षा छ।
बन्दरगाहको विकल्प बढ्दा आयात–निर्यातकर्ताले ढुवानी मार्ग छनोट गर्न थप सुविधा पाउनेछन्। यसले पारवहनमा प्रतिस्पर्धा बढाउन, ढुवानी समय र लागत घटाउन तथा आपूर्ति शृंखलालाई प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ। तर यसको वास्तविक लाभ बन्दरगाह सञ्चालनका लागि आवश्यक कार्यविधि र पारवहन सन्धिको प्रोटोकल संशोधन कति छिटो हुन्छ भन्नेमा निर्भर रहनेछ।
एसोसिएसनले नयाँ बन्दरगाह प्रयोगमा ल्याउन आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया शीघ्र पूरा गर्न सरकारसँग आग्रह गरेको छ।
रेलमार्गले माल ढुवानीको लागत घटाउने अपेक्षा
भारत भ्रमणका क्रममा प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा पनि भएको छ। यससँगै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिले दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विस्तारको सम्भावना बढाएको एसोसिएसनको भनाइ छ।
रेलमार्ग सञ्चालनमा आएपछि ठूलो परिमाणमा सामान ढुवानी गर्न सहज हुनेछ। सडक यातायातमा रहेको निर्भरता घटाउन र मालसामान ओसारपसारको लागत कम गर्न यसले सहयोग पुर्याउन सक्छ। विशेषगरी औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री र ठूलो परिमाणमा आयात हुने वस्तुको ढुवानीमा रेलमार्ग उपयोगी हुन सक्नेछ।
ढुवानी लागत घट्नुको प्रत्यक्ष लाभ उद्योग तथा व्यापारिक क्षेत्रले पाउनेछन्। त्यसले नेपाली उत्पादनको लागत कम गर्न र स्वदेशी उद्योगलाई भारतीय तथा तेस्रो मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज बनाउन सक्ने अपेक्षा गरिएको छ।
यद्यपि रेलमार्गको सर्वेक्षण सम्पन्न हुनु र व्यावसायिक सञ्चालन सुरु हुनु फरक चरण हुन्। लगानी, निर्माण, सीमा क्षेत्रमा पूर्वाधारको समन्वय र सञ्चालन प्रणाली टुंगिएपछि मात्रै यसको आर्थिक लाभ देखिनेछ।
गौतम बुद्ध विमानस्थलबाट कार्गो व्यापारको सम्भावना
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले पनि नेपालको हवाई कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने एसोसिएसनले जनाएको छ।
यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सम्भावना खोल्नेछ। भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि बढाउन पनि यसले अनुकूल वातावरण बनाउन सक्ने एसोसिएसनको विश्वास छ।
हवाई मार्गको सहजताले यात्रु आवागमनमा मात्र नभई उच्च मूल्यका र छिटो ढुवानी गर्नुपर्ने वस्तुको व्यापारमा समेत प्रभाव पार्न सक्छ। तर कार्गो व्यापार विस्तारका लागि विमानस्थलमा आवश्यक पूर्वाधार, नियमित उडान र बजारको माग पनि सुनिश्चित हुनुपर्नेछ।
सहमति कार्यान्वयनमा निजी क्षेत्रको जोड
एसोसिएसनले यी सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना हुने जनाएको छ। पारवहन लागत घट्ने, व्यापार प्रक्रिया सरल हुने, निर्यात प्रवर्द्धन हुने र औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उसको अपेक्षा छ।
तर सहमति घोषणामै सीमित रहे त्यसको आर्थिक लाभ प्राप्त नहुने भन्दै एसोसिएसनले कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी र प्राविधिक प्रक्रिया समयमै अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, पारवहनसम्बन्धी विद्यमान प्रक्रियालाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन तथा कार्यान्वयनका क्रममा देखिने समस्या समाधान गर्न निजी क्षेत्रसँग समन्वय र परामर्श गर्न पनि आग्रह गरिएको छ।



