काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ ।
आव २०८०/०८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ ।
हालै भएको मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् ३ खर्ब २० अर्ब चार करोड रुपैयाँ बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो ।
यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/०८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ ।
आव २०८१/०८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत संकलन भई कुल राजस्व संकलन वार्षिक लक्ष्यको ८३.६ प्रतिशत पुगेको छ । आव २०८०/०८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ संकलन भएकामा आव २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो ।
आव २०८१/०८२ मा कुल आयात १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ, निर्यात दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबर भएको छ । कुल व्यापारघाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।


