काठमाडौँ। गएको साउन महिनामा नेपालगञ्ज भन्सार कार्यालयले १ अर्ब ३८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
कार्यालयले साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर राजस्व असुली भने ७४.१४ प्रतिशत मात्र भएको छ। गत वर्षको साउन महिनाको तुलनामा उक्त राजस्व संकलन ७.८९ प्रतिशतले कम हो। गत साउनमा सो भन्सार कार्यालयले १ अर्ब ५० करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।
नेपालगञ्ज भन्सार कार्यालयमा पेट्रोल, डिजेल, एलपी ग्यास, तयारी कपडा, स्टिल वायर, चामल, शुद्ध फलाम, पोलीथिन दाना, टायल र दलेको वा नदलेको दालबाट सबैभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज भन्सार कार्यालयले २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। उक्त कार्यालयबाट साउन महिनामा भएको राजस्व संकलन वार्षिक लक्ष्यको ५.६४ प्रतिशत मात्र हो।


