काठमाडौं। वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधि सभाको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।
संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताए। विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले समेत नवीन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिएका थिए।
संसदको अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमा सभामा पेश गरिएको थियो। वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ।


