काठमाडौं । अरनिको राजमार्गको कोदारीमा गएको पहिरोका कारण झन्डै तीन सातादेखि ठप्प तातोपानी नाकाबाट मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रन थालेका छन् ।
रसुवा नाका बन्द भएपछि तातोपानी आएका फलफूललगायतका सयौं मालवाहक कन्टेनर, इलेक्ट्रिक भेहिकल नेपाल भित्र्याइएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार ४४ वटा मालवाहक कन्टेनर तथा केही ईभी पहिरोको बाटो छिचोल्दै नेपाल प्रवेश गरेका छन् । सडक खुल्नेबित्तिकै बिहीबार साँझ २० वटा खाली कन्टेर पहिरोबाट सीमातर्फ पठाइएको छ । शुक्रबार पनि खाली कन्टेनर पहिरो छिचोलेर सीमा पठाइएको छ । ती कन्टेनरले मितेरी पुलबाट मालवाहक सामान ताोतोपानी भन्सार ल्याउनेछन् ।
पहिरो खुलाउन नियमित फिल्डमा रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी बुद्धराज बस्नेतले सडकको अवस्था नबिग्रेकाले कन्टेर आउजाउमा समस्या नभएको बताए । उनका अनुसार अन्तिमपटक गत साउन १७ मा कन्टेर भन्सार यार्ड प्रवेश गरेका थिए । यस अवधिमा स्याउ, नास्पाती, आँप, अंगुर, लसुन, किबीलगायतका फलफूल, मसलाजन्य मालवस्तु भरियालाई बोकाएरै तातोपानी भन्सार यार्डसम्म ल्याइएको थियो ।
यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन् । फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाएइको थियो । ढुवानीमा मात्र एक कन्टेनरमा झन्डै डेढ लाख अतिरिक्त रकम खर्च भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य तथा आयातकर्ता राजेश भण्डारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोका कारण गत वर्ष र यस वर्ष फलफूल आयातकर्ताले उठ्नै नसक्नेगरी नोक्सानी बेहोर्नुपरेको छ ।
गत असार २४ को बाढीले रसुवा नाका पूर्णरुपमा बन्द भएपछि चीनबाट उत्तरी नाकाको स्थलमार्ग भएर गरिने व्यापार सबै तातोपानीतर्फ ‘डाइभर्ट’ भएको थियो । तर तातोपानी नाकाको मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ कोदारीस्थित सडकमा गएको पहिरोका कारण आयात व्यापार ठप्प हुँदै आएको थियो । व्यापार ठप्प भएका कारण चालु वर्षको साउनको राजस्व संकलन ४४ प्रतिशत मात्र भएको भन्सार अधिकृत सूर्य काफ्लेले जानकारी दिए । उनले फलफूलबाट राजस्व संकलन रकम धेरै नहुने भएकाले कमर्सियल (तयारी पोसाक, जुत्ता) को आयात सहज हुनुपर्ने बताए । तातोपानी नाकाबाट पछिल्लो समय ईभी पनि धेरै आउने गरेको छ । रसुवा बन्द भएपछि यही नाकाको प्रयोग बढी हुने अनुमान छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार अहिले पनि मालवस्तु बोकेका सयौं कन्टेनर नेलामदेखि खासासम्म नेपाल आउने तयारीमा छन् । विशेषतः तयारी पोसाकलगायत दसैंकेन्द्रित मालवस्तु नेपाल भित्रन पाएका छैनन् । काठमाडौं भित्र्याएर पनि मुलुकमा विभिन्न सहरमा पठाउनुपर्ने सामान समयमा ल्याउन नसक्ने बिक्री नहुने अध्यक्ष कार्कीले बताए ।


