काठमाडौं । अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर भएको छ । गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो । फेरि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतहरूको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको हो ।
पछिल्ला दिनहरूमा अर्थमन्त्रालय मातहतका निकायहरूमा सरुवा व्यापक रुपमा भइरहँदा बजेट कार्यान्वयनको मुखमा प्रभावित हुने चिन्ता बढेको छ। रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठूला करदाता कार्यालय ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ ।
यस्तै, अन्य दर्जनौँ अर्थका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर भएको थियो । जसअनुसार वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको थियो ।
मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए। भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाए।
पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए। पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए। निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए। पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए। तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन्। पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो।
मन्त्री पौडेलका विश्वासपात्र मानिएका भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमै तानिएको छ। भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाउँदै पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।
भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन्। अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएका छन् ।
कसलाई कहाँ पठाइयो ?






