काठमाडौं। सरकारले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रकाे सेवा सहज बनाउन देशभर २३ इलाका प्रशासन कार्यालय थप्ने भएकाे छ। साेमबारकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदकाे प्रशासन समितिमा पठाएकाे हो। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ ।
गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएकाे हाे ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भाैगाेलिक सुगमता र पहुँचबिच देखिएकाे असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयकाे याेजना छ।
गृह मन्त्रालयले नयाँ खुल्ने इलाका प्रशासनका लागि संगठन पुनरावलोकन गरी, मन्त्रालयकै दरबन्दीभित्र मिलाएकाे छ। काठमाडौं जिल्लाकाे टाेखामा पनि इलाका प्रशासन स्थापना हुने भएकाे हाे।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै इलाका प्रशासन कार्यालय थपिने
प्रस्तावअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ६ वटा नयाँ इलाका प्रशासन कार्यालय थपिने भएका छन्। यस अन्तर्गत बझाङको देउरा, अछामको साँफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र बाजुराको कोल्टीमा स्थापना गरिने तयारी छ।
यस कदमले सेवाप्रवाहमा देखिएको असमानता घटाउने, नागरिकहरूको पहुँच सहज बनाउने र भौगोलिक कठिनाइले सिर्जना गरेको चुनौतीलाई कम गर्ने अपेक्षा गरिएको छ।
यी हुन् प्रस्तावित इलाका प्रशासन :
१.इलाका प्रशासन कार्यालय, सिरिजंगा ( ताप्लेजुङ)
२.इलाका प्रशासन कार्यालय, हलेसी (खोटाङ)
३.इलाका प्रशासन कार्यालय, घोराखोरी(ओखलढुंगा)
४.इलाका प्रशासन कार्यालय, सुखीपुर ( सिरहा)
५.इलाका प्रशासन कार्यालय, धनुषाधाम (धनुषा)
६. इलाका प्रशासन कार्यालय, वलरा (सर्लाही)
७. इलाका प्रशासन कार्यालय, पोखरीया (पर्सा)
८.इलाका प्रशासन कार्यालय, दुधौली ( सिन्धुली)
९.इलाका प्रशासन कार्यालय, टोखा(काठमाडाैं)
१०.इलाका प्रशासन कार्यालय, धो ( डोल्पा)
११. इलाका प्रशासन कार्यालय, खत्याड ( मुगु)
१२. इलाका प्रशासन कार्यालय, रास्कोट(कालीकोट)
१३.इलाका प्रशासन कार्यालय, कोल्टी ( बाजुरा)
१४.इलाका प्रशासन कार्यालय, देउरा ( बझाङ)
१५. इलाका प्रशासन कार्यालय, साँफेबगर (अछाम)
१६.इलाका प्रशासन कार्यालय, विपिनगर (डोटी)
१७.इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, (दार्चुला)
१८.इलाका प्रशासन कार्यालय, मेलौली (बैतडी)
१९. इलाका प्रशासन कार्यालय, हेदङवा ( संखुवासभा)
२०.इलाका प्रशासन कार्यालय, गैडहवा, (रुपन्देही)
२१.इलाका प्रशासन कार्यालय, भीमाद (तनहुँ)
२२. इलाका प्रशासन कार्यालय, सितगंगा, (अर्घाखाँची)
२३.इलाका प्रशासन कार्यालय, खैरहनी ( चितवन)


