काठमाडौं। सरकारको कुल ऋण २६ खर्ब २३ अर्ब माथि पुगेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै सरकारले ४० अर्ब ५७ करोड रूपैयाँ सार्वजनिक ऋण उठाएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब रूपैयाँ आन्तरिक ऋण हो भने १४ खर्ब २ अर्ब रूपैयाँ बाह्य ऋण हो । कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत पुगेको छ । वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत छ।
चालु आवमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र बाह्य ऋण २ खर्ब ३३ अर्ब हो ।
सरकारले यो वर्ष ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये साउनमा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएको छ । यो वार्षिक बजेटको ८.९३ प्रतिशत हो ।
कार्यालयका अनुसार साउनमा आन्तरिक ऋण भुक्तानी ३२ अर्ब २३ करोड गरिएको छ । यसमध्ये साँवा भुक्तानी २७ अर्ब १० करोड हो भने व्याज भुक्तानी ५ अर्ब १३ करोड हो ।
साउनमा बाह्य ऋण ४ अर्ब ४४ करोड भुक्तानी गरिएको छ । यसमध्ये साँवा ३ अर्ब ४५ करोड र ब्याज ९९ करोड रहेको छ । आन्तरिक र बाह्य दुवै गरी कुल साँवा ३० अर्ब ५५ करोड र ब्याज ६ अर्ब १३ करोड भुक्तानी गरिएको छ।


