काठमाडौं । भारतले नेपाली प्लाइउडको निर्यातमा रोक लगाएको छ ।
नेपालमा उत्पादित प्लाइउडको मुख्य बजार भारत हो । दुई वर्षअघि पनि यसैगरी रोकेको प्लाइउडको निर्यात यसपटक दुई सातादेखि ठप्प भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको ठीकअघि भारतीय पक्षले भने नेपालको मुख्य निर्यातजन्य औद्योगिक उत्पादनमा रोक लगाएको हो ।
नेपालबाट प्लाइउड बोकेर भारततिर गएका ट्रकहरू दुई सातादेखि भारतीय भन्सार नाकाहरूमा रोकिएको झापाका व्यवसायीहरुले बताएका छन् । विराटनगर पारिको जोगबनी भन्सार र काँकडभिट्टा पारिको पानीट्यांकीस्थित रानीगन्ज भन्सारमा ट्रकहरू रोकिएको व्यवसायीहरु बताउँछन् ।
नेपाल प्लाइउड एसोसिएसनका केन्द्रीय सदस्य तथा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंका अनुसार भारतीय पक्षले आइएसआई प्रमाणपत्रको अवधि सकिएको भन्दै प्लाइउडमा रोक लगाएको छ ।
‘गुणस्तर मान्यता प्रमाणपत्र प्रदान गर्ने निकाय ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) बाट जारी गर्ने आइएसआई प्रमाणपत्रको अवधि सकिएको भनेर अवरोध भइरहेको छ,’ प्रसाईंले भने, ‘यस्तो अवरोधले नेपालको प्रमुख निर्यातमूलक वस्तु प्लाइउड उद्योगहरू फेरि मर्कामा परेका छन् ।’
प्लाइउड एसोसिएसनका अनुसार नेपालभरि अहिले ९० हाराहारी प्लाइउड उद्योग छन् । त्यसमध्ये ६६ भन्दा बढी उद्योगहरू कोशी प्रदेशमा मात्रै छन् । ‘तीमध्ये आइएसआई प्रमाणपत्र जम्मा ९ वटा उद्योगले मात्रै पाएका छन्,’ एसोसिएसनले भनेको छ, ‘त्यो पनि वर्ष दिनका लागि मात्रै हो ।’
प्लाइउड उद्योगीहरूले भारतीय पक्षबाट बिआइएसको आइएसआई प्रमाणपत्र लिनका लागि आवश्यक पर्ने शुल्क बुझाइसकेको तर प्रमाणपत्र नआएको पनि बताएका छन् । ‘सबै उद्योगीहरूले प्रमाणपत्रका लागि चाहिने दस्तुर बुझाइसकेका छन्, प्रमाणपत्र आएको छैन,’ प्रसाईंले भने, ‘प्रमाणपत्र पनि बेलैमा नदिने, हाम्रो उत्पादन पनि नाकामै रोक्ने भारतीय कदमले उद्योगहरू अन्यायमा परेका छन् ।’
भारतीय भन्सार नाकाहरूमा प्लाइउड बोकेका ट्रकहरूमा अवरोध सुरू भएको महिना दिनभन्दा बढी भएको र ठप्पै भएको दुई साता भएको छ । यसबारे प्लाइउड एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै ध्यानाकर्षण समेत गराइसकेको छ ।
उद्योगीहरूले प्रधानमन्त्रीलाई भेटेर सहजीकरण गरिदिन आग्रह गरेको केही समयपछि नै भारतले ट्रकहरू रोकेर राखिदिएको हो ।
प्लाइउड निर्यातमा यसैगरी दुई वर्षअघि पनि भारतले अवरोध सिर्जना गरेको थियो । केही समयको अवरोधपछि भारतले निर्यात खुलाएको थियो । यसपटक भने सुरूमा थोरै कडाइ गरेको उसले दुई सातायता भने ट्रकहरू रोकेर राखिदिएको उद्योगीहरू बताउँछन् ।
त्यसो त भारतले आइएसआई प्रमाणपत्र बिनाका उद्योगको प्लाइउड आयात नगर्ने भनेर आफ्नो राजपत्रमै सूचना जारी गरिसकेको छ । सन् २०२४ मार्च १५ को राजपत्रमा प्रकाशित सूचना अनुसार २८ फेब्रुअरी २०२५ देखि यो प्रावधान लागू भएको छ । तर नेपाली उद्योगीहरूले प्रमाणपत्र प्राप्तिका लागि दिएको निवेदन र शुल्क ग्रहण गरेको लामो समयसम्म भारतले कारबाही नगरेको भन्दै गुनासो गरेका छन् ।
पछिल्लो दशकमा पूर्वमा प्लाइउड उद्योगहरू धेरै फस्टाएको र सोही कारण नेपालबाट भारत निर्यात हुने मुख्य १० उत्पादनभित्र प्लाइउड पर्ने गरेको उद्योगीहरू बताउँछन् । प्लाइउड एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सीताराम अग्रवाल नेपालको प्लाइउड उद्योग केही वर्षयता उत्पादनमा आत्मनिर्भर भइसकेको बताए ।
यता भैरहवास्थित कृष्णनगर भन्सारबाट भने आइएसआई प्रमाणपत्र भएका व्यवसायीलाई भने निर्वाद रुपमा प्लाइ निर्यात गर्न दिइरहेको छ ।


