काठमाडौँ। नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःखसुखको साथीको रुपमा रहेको बताए । सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उनको भनाइ छ। बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना सम्प्रेषणका लागि एउटा माध्यमका रुपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने उनले बताए। उनले सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको जिकिर गरे।
उनले भने,‘ नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ । सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन । यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ । यो एउटा सशक्त माध्यमको रुपमा छ । अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली काँग्रेस मुकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ ।’
सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताए ।


