काठमाडाैँ। गत भदौ २५ देखि बन्द भएकाे सेयर बजार आजदेखि खुले पनि लगातार तेस्राेपटक नकारात्मक सर्किट लागेपछि काराेबार बन्द भएको छ। जेनजी आन्दोलनका कारण एक साता बन्द रहेकाे बजार पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्राेपटक नकारात्मक सर्किट लागेर सेयर कारोबार दिनभरका लागि बन्द भएको छ।
प्रि–ओपन सेसनमै उच्च अंकले घटेको नेप्से कारोबार खुलेको २ मिनेटमै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको थियाे। सरकार परिवर्तनपछि कारोबारको पहिलो दिन खुलेकाे सेयर बजारमा २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेकाे थियाे र सेयर बजार कारोबार ४० मिनेटका लागि बन्द भएको थियाे। नेप्सेमा तेस्राे पटक पनि नकारात्मक सर्किट लागेपछि १२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बन्द भएको हाे।


