काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको नाममा रु. ५० लाख भन्दा बढीको मुद्ती निक्षेपमा PAN अनिवार्य हुने व्यवस्था रहेकाले ग्राहकहरुलाई प्यान अद्यावधिक गर्न जानकारी गराएको हो।
बैंकले जारी गरेको सूचनाअनुसार, हाल कर प्रणालीअन्तर्गत निक्षेपकर्ताको खाताबाट भुक्तानी हुने व्याज रकममा स्रोतमा कर कट्टी (E-TDS) मा कर विवरण तयार पार्न PAN नम्बर आवश्यक हुने भएको छ। यसबाट कर कट्टी विवरण प्रणालीमा स्वतः मिलान हुने र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने पनि बैंकले जनाएको छ।
त्यसैले, बैंकले आफ्ना सबै ग्राहकलाई नजिकको शाखामा सम्पर्क गरी वा बैंकको वेबसाइट र मोबाइल बैंकिङ एप “Mahalaxmi Smart Sathi” मार्फत eService प्रयोग गरेर Online KYC Form अद्यावधिक गर्न आग्रह गरेको छ। यस प्रक्रियामा ग्राहकले आफ्नो स्थायी लेखा नम्बर (PAN) सहित KYC विवरण अद्यावधिक गर्नुपर्नेछ।
बैंकले PAN अद्यावधिक गर्ने प्रक्रिया सहज बनाउन शाखा स्तरमा आवश्यक सहयोगको व्यवस्था पनि मिलाएको जनाएको छ।


